बिहीबार, वैशाख १३, २०८१

कोरोना सन्त्राससँगको नयाँ वर्ष !

नेपालखोज २०७६ चैत ३० गते ६:३८

कैलाली । नयाँ वर्ष, अर्थात प्रचलनमा रहेको पात्रोको प्रथम दिन तथा वर्ष वा सालको आरम्भ लाई भनिन्छ । नेपाल लगायतका विक्रम सम्बत मान्ने स्थानहरूमा वैशाख १ गतेका दिन र इस्वी सम्बत मान्ने स्थानहरूमा जनवरी १ तारीखका दिन नयाँ वर्ष मनाइन्छ । सो दिनमा प्रचलित परम्परा अनुसार बिभिन्न कार्यक्रमहरू आयोजन गरिन्छन ।

यस अवसरमा एक आपसमा सद्भभावको आदान प्रदान गर्ने शुभकामना लिने दिने, साथीभाइ इष्टमित्र भेटघाट गर्ने, वनभोज कार्यक्रमको आयोजना गर्ने, मठ मन्दिरमा गई पूजापाठ गर्ने, मिठामिठा परिकार खाएर हर्षोल्लासका साथ मनाउने गरिन्छ । सरकारले समेत यस दिन सार्वजनिक विदा दिने गर्दछ । विगतका नराम्रा क्रियाकलापलाई सच्याएर नयाँ जोश र जाँगरका साथ आफ्नो कर्मक्षेत्रमा लागेर आर्थिक, सामाजिक र सांस्कृतिक विकास गर्ने प्रेरणा मिलोस् भनेर कामना गरेर नयाँ वर्ष मनाउने गरिन्छ ।

तर सदा झै यस वर्ष नयाँ वर्षले हाम्रो घर आगनमा पाइला टेकिसके पनि नयाँ वर्षको खासै कुनै चहलपहल देखिदैन । सञ्चार र विज्ञान क्रान्तिको उचाइमा टेक्दै चन्द्रमामा बस्ती बसाउने सपना बाँड्दै गरेको मानव समुदाय आँखाले देख्न नसक्ने जाबो कोरोना जीवाणुबाट यति आक्रान्त भएको देख्दा नजिकिँदै गरेको विक्रम संवत् २०७७ पनि यतिबेला खल्लो अनुभूति गरिरहेकोे छ ।

यतिबेला कोरोना भाइरसले स्तनधारी जनावर तथा चराचुरुङ्गीहरूमा रोग निम्त्याइ रहेको छ । मानिसहरूमा समेत यसले श्वासप्रश्वास सम्बन्धी रोग निम्त्याउने कोरोना भाइरसले सामान्य ज्वरो देखी सार्स, मर्स तथा कोभिड(१९ जस्तो प्राणघातक पनि हुन सक्छ। हालसम्म यसको विरुद्ध कुनै खोप वा औषधिको आविष्कार भएको छैन।

यस भाइरसको संक्रमणबाट सन् २०२० जनवरी ५ मा चीनमा पहिलो व्यक्तिको मृत्यु भएको थियो । यो भाइरस चीनको वुहान प्रान्तमा प्रथम पटक मानिसमा सरेको थियो भने हाल यसको प्रकोप संसारभर फैलिसकेको छ। विश्वमा एकलाख बढीको ज्यान लिइसकेको कोरोना भाइरस कोभिड १९ बाट नेपाल समेत अछुतो रहन सकेको छैन । नेपालमा हालसम्म ९ जना व्यक्तिमा कोरोना संक्रमण पुष्टि भैसकेको छ । विश्व अहिले यो रोगबाट त्राहीत्राही भएको छ । हालसम्म यसको कुनैपनि औषधी पत्ता लाग्न सकेको छैन । केही समयपछि कोरोनाविरुद्धको भ्याक्सिन तथा औषधि मानव समुदायले अवश्य तयार गर्ला र त्यो जीवाणु शक्तिको बिगबिगी किनार लगाउला तर त्यो क्षण आइनपुगुञ्जेल छट्पटाएर मात्र केही हुन्न । बरु लकडाउन संहिताको पालना राम्रोसँग गरिरहन सके हामी सम्भावित सङ्क्रमणबाट आफूलाई मात्र होइन आफन्तजनको ठूलो समूहलाई नै जोगाउन सक्छौँ । त्यसका लागि यतिबेला हामीमा केवल धैर्य र संयम आवश्यक छ ।

देशभरीमै फेला परेका ९ जना संक्रमित मध्ये ४ जना सुदूरपश्चिम प्रदेश र त्यसमा पनि ३ जना कैलाली जिल्लाकै संक्रमित हुनुले पनि हामी कैलालीबासीहरु सचेत र सजग हुन जरुरी देखिएको छ ।

धनगढीमा विदेशबाट आएका कोरोना संक्रमितले आफन्तलाई संक्रमण सारेसंगै नेपाल कोरोना भाइरस कोभिड (१९ ले दोस्रो चरणमा प्रवेश गरिसकेको छ । यसले तेस्रो चरणमा प्रवेश गरेमा संक्रमणले गम्भीर र नेपालमा समेत महामारीको रुप लिने निश्चित भएकोले सरकारले घोषणा गरेको लकडाउनलाई पालना गर्नुको विकल्प छैन ।

कोरोना भाइरस कति समय सम्म रहन्छ भनेर भन्न सक्ने अवस्था छैन । लकडाउनको अवधि यति नै भनेर भन्ने अवस्था पनि छैन । त्यसैले यसबाट सुरक्षित रहनु भनेको अहिलेको अवस्थामा सजग र सतर्क रहनु नै हो । रुघाखोकी लागेको व्यक्तिको सोझो सम्पर्कमा नजाने, भिडभाडमा नजाने, अति आवश्वक कामका लागि घरदेखी बाहिर निस्कनु परेमा सामाजिक दुरी कायम गर्ने, बेलाबेलामा साबुन पानीले मिचिमिची हात धुने र सेनिटाइजर्ले हात धुने तथा सरसफाइमा ध्यान दिएर घरमै लकडाउनमा बसेमा हामी यो रोगबाट सुरक्षित रहन   सक्छौं ।

२०७६ साल हामीबाट बिदावारी हुँदैछ । यो वर्षको अन्तिम घडीमा हामीले मनलाई भारी तुल्याउँदै आफैँले अप्रियतापुर्वक लगाएका लकडाउनका ताल्चाहरू विक्रम संवत् २०७७ को आगमनसँगै खुकुँलिदै जानेछन् । अनि त, यतिबेला टाढिएका आफन्तहरूसँग नजिकिँदै वसन्तको त्यही रहलपहल मधुमासमा कोरोना कहरलाई मज्जाले बिर्साउने गरी रमाउन कसो नपाइएला र रु जीवन रहेसम्म्म त यस्ता नयाँ वर्ष कति आउछन कति । त्यसैले नयाँ वर्ष २०७७ लाई तडकभडक र भिडभाड नगरी लकडाउनमै आफनै घरमा घरपरिवार संग रमाइलो गरि मनाऔं । कोरोनाबाट आफुपनी बचौ , अरुलाई पनि बचाउ ।

– रंगप्रसाद तिमिल्सैना   (लेखक नेपाल रेडक्रस सोसाइटी बलिया उपशाखा लम्कीका सभापति तथा बालकल्याण मावि लम्की भुरुवाका सहायक प्रधानाध्यापक हुन् ।)

प्रतिक्रिया