दिक्तेलमा औषधि छर्कन शुरु
खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारमा कोरोना भाइरसको जीवाणु नाश गर्ने रसायनिक औषधि छर्कन शुरु गरेको छ । नगरपालिकाले दिक्तेल बजारको रत्नपार्कस्थित किराँतचोकदेखि सोडियम हाईपोक्लोराइड नामक औषधि छर्कन शुरु गरेको हो ।
किराँतचोकदेखि शुरु गरिएको सोडियम हाईपोक्लोराइड छर्किने अभियान रत्नपार्क, सङ्गमपार्क, पुरानो बेसक्याम्प, त्रिवेणीचोक, भवनगैरालगायतका क्षेत्रमा सम्पन्न गरिएको नगरप्रमुख दिपनारायण रिजालले बताए । विश्व स्वास्थ्य सङ्गठन र नेपाल सरकार स्वास्थ्य मन्त्रालयले जारी गरेको निर्देशिका बमोजिम ०.५ प्रतिशतको घोल बनाएर औषधि छर्कन थालिएको उनले जानकारी दिए ।
जिल्लामा भाइरस तथा ब्याक्टेरिया नाश गर्न २२५ लिटर सोडियम हाईपोक्लोराइड ल्याइएको छ । एक लिटर सोडियम हाईपोक्लोराइडमा आठ लिटर पानी घोलेर कम्प्रेसर मेसिनमार्फत छर्कने गरिन्छ ।

प्रतिक्रिया