शुक्रबार, चैत १६, २०८०

असिनाले करोडौँको बालीमा नोक्सान

नेपालखोज २०७७ वैशाख २ गते ११:०५

पर्वत । गए राति परेको असिनापानीका कारण पर्वत र बागलुङमा करोडौँको क्षति पुगेको छ ।

पर्वतको जलजला र मोदी गाउँपालिका तथा बागलुङको ताराखोला गाउँपालिकामा भीषण असिनापानी परेको कृषि ज्ञान केन्द्र पर्वतले जनाएको छ । यस वर्ष यो चौथोपटक ठूलो असिना परेको हो । असिनाले खेतबारीमा लगाएका मकै, भित्र्याउन तयार भएको गहुँबाली, फलफूल र तरकारीमा ठूलो क्षति पु¥याएको कृषि ज्ञान केन्द्र पर्वतका प्रमुख वासुदेव रेग्मीले जानकारी दिए । उनका अनुसार यतिबेला फल लाग्न थालेको सुन्तलामा ठूलो नोक्सानी पुगेको छ । सुन्तलाको पकेट क्षेत्रको रुपमा रहेको पर्वतको देउपुरमा असिनाले धेरै क्षति पु¥याएको उनले बताए ।

पर्वतको जलजला र बागलुङको ताराखोला आलुखेतीको पकेट क्षेत्र हो । ती दुवै पालिकामा बर्खे आलुमा क्षति पुगेको छ । यस क्षेत्रका कृषकले खेतमा लगाएको मकै गोडिसकेका थिए भने बारीमा लगाएको मकै उम्रिएका थिए । खेतबारीकै मकैमा असिनाले असर पु¥याएको छ । त्यस्तै बर्खे तरकारीमा पनि नराम्रो गरी असिनाले हानेको कृषकले गुनासो गरेका छन् ।

झण्डै आधा घण्टाभन्दा बढी परेको असिनाका कारण मकै, फलफूल तरकारी पूरै नष्ट भएको मोदी गाउँपालिका वडा नं ८ चित्रेकी सुशीलादेवी गुरुङले जानकारी दिइन्।

प्रतिक्रिया