पीडितको न्यायको अधिकार सुनिश्चित होस् : इन्सेक

नेपालखोज २०७९ जेठ २३ गते १४:२२

काठमाडौं । विस्तृत शान्ति सम्झौता, निरन्तरका सार्वजनिक भएका प्रतिबद्धता तथा संक्रमणकालीन न्यायको सवालमा सर्वोच्च अदालतको फैसलाहरूलाई ध्यान दिई पीडितको न्यायको अधिकार सुनिश्चित गर्न इन्सेकले माग गरेको छ ।

चितवनको बाँदरमुढेमा यात्रुवाहक बसमा तत्कालीन नेकपा माओवादीले विद्युतीय धराप विस्फोट गराएको घटनाको स्मरण गर्दै इन्सेककी अध्यक्ष डा. इन्दिरा श्रेष्ठद्वारा जारी विज्ञप्तिमा यस्तो माग गरिएको हो । विज्ञप्तिमा भनिएको छ, ‘सशस्त्र द्वन्द्वको अन्त्य गर्न २०६३ मंसिर ५ गते विस्तृत शान्ति सम्झौतामार्फत गरिएका प्रतिबद्धताहरूमध्ये द्वन्द्वपीडितका न्यायसम्बन्धी सवालहरू आजसम्म पनि सम्बोधन भएनन् । शान्तिपूर्ण समाज स्थापनाको लक्ष्य पूरा भएको छैन ।’

द्वन्द्वपीडितहरूको न्याय निरूपण, परिपूरण, न्याय तथा संस्थागत सुधारमार्फत द्वन्द्वको शान्तिपूर्ण समाधान गर्नुपर्ने दायित्व जस्ताको त्यस्तै रहेकामा इन्सेकले सरोकार व्यक्त गरेको छ । नेकपा माओवादीका कार्यकर्ताले यात्रु बसमा विद्युतीय धराप विस्फोट गराएर ४२ जनाको मृत्यु र ६८ जना घाइते भएको दुर्दान्त बाँदरमुढे घटनाको १७ वर्ष भएको छ ।

साबिक कल्याणपुर गाविस १ र ४ को सीमानामा पर्ने बाँदरमुढे खोलामा ना.१ख ३२४५ नम्बरको बसमा २०६२ जेठ २३ गते विद्युतीय धराप विस्फोट गराउँदा सर्वसाधारण र निःशस्त्र सुरक्षाकर्मीको मृत्यु भएको थियो ।

प्रतिक्रिया