बिहीबार, वैशाख २७, २०८१

लकडाउन अवधिमा दुई अर्ब रुपैयाँको दूध नोक्सान

नेपालखोज २०७७ वैशाख २ गते १९:३७

काठमाडौँ । कोरोना भाइरस संक्रमणलाई ध्यानमा राख्दै नेपाल सरकारले गरेको लकडाउन अवधिमा करीब रु दुई अर्ब दूध नोक्सान भएको  छ । नेपाल डेरी एशोेसिएशनले लकडाउनको २१ दिनका अवधिमा रु पाँच अर्बको सामान मौज्दात रहेको जनाएको छ । एशोसिएशनका महासचिव प्रल्हाद दाहालका अनुसार दूध र दुग्धजन्य वस्तुको खपत बढी हुने शहर बजार क्षेत्रमा बस्दै आएका अधिकांश नागरिक गाउँ फर्केकाले दूध र दुग्धजन्य पदार्थको खपत ७० प्रतिशतले घटेको छ ।

दूध र दुग्धजन्य पदार्थको खपत कम भएपछि आज सातै प्रदेशका अध्यक्षसँग भिडियो कन्फ्ररेन्स गरेर एशोसिएशनले विभिन्न निर्णयसमेत गरेको छ । सरकारले अन्य क्षेत्रका व्यवसायमा जस्तै शून्य ब्याजमा ऋण, भ्याट तथा कर छुट, किसानलाई तत्काल पशुलाई खुवाउने दानाको व्यवस्थापन र दूध खेर जाँदा त्यसको उचित व्यवस्थापन गर्न एशोसिएशनले माग गरेको छ ।

दूध बिक्री नहँुदा किसानलाई दिनुपर्ने भुक्तानी र कर्मचारीको तलबमा समस्या भएको बताउँदै दाहालले सरकारले घरभाडा छुटको घोषणा गरे तापनि कार्यान्वयन नभएको गुनासो गर्नुभयो । एशोसिएशनले वाग्मती प्रदेश सरकारले राहत प्याकेजमा आधा किलोको दरमा घिउ समावेश गराउने निर्णय गरे जस्तै अन्य प्रदेशलाई समेत राहत प्याकेजमा समावेश गर्न आग्रह गरेको छ ।

दूधको खपत कम भएपछि दुग्ध उद्योगलाई सामान राख्न भण्डार क्षमतासमेत नभएको उनले बताए। उनका अनुसार पर्याप्त मात्रामा दूध संकलन गर्ने काम भए तापनि बजारमा खपत कम हुँदा उद्योग नै बन्द गर्नुपर्ने अवस्था सिर्जना भएको छ । डेरी एशोसिएसनको तथ्यांकानुसार नेपालमा दैनिक ६२ लाख लिटर दूध उत्पादन हुने गरेकामा औपचारिक क्षेत्रमा १७ र अनौपचारिक क्षेत्रमा ३३ प्रतिशत खपत हुँदै आएको तथा कृषक स्वयंले ५० प्रतिशत उपभोग गर्ने गरेका छन् ।

प्रतिक्रिया