बुधबार, वैशाख १२, २०८१

काभ्रेका ‘क्वारेन्टाइन’ खाली

नेपालखोज २०७७ वैशाख ३ गते १३:५७

काभ्रे । कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण रोकथामका लागि काभ्रेपलाञ्चोकमा स्थापना गरिएका सबै ‘क्वारेन्टाइन’ अहिले खाली अवस्थामा रहेका छन् ।

काभ्रेपलाञ्चोकको १३ स्थानीय तहमा स्थापना गरिएको सबै क्वारेन्टाइन विगत एक हप्तादेखि खाली अवस्थामा रहेका हुन् । कोरोना भाइरस सङ्क्रमण न्यूनीरकण तथा रोकथामका लागि यहाँका स्थानीय तहमा स्थापना गरिएका सबै क्वारेन्टाइन अहिले खाली अवस्थामा रहेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा. नरेन्द्र झाले बताउए। उनका अनुसार विदेशबाट हालसम्म काभ्रेपलाञ्चोकमा घर फर्किएका मण्डनदेउपुर नपाका आठ जनाबाहेक सबैलाई एकान्तबास (होम क्वारेन्टाइन)मा नै राखिएको छ । घर फर्केका सबैको प्रारम्भिक स्वास्थ्य परीक्षण गरी एकान्तबास मै बसाइएको हो ।

स्थानीय तहले हालसम्म २८८ शय्याको क्वारेन्टाइन स्थापना गरेका छन् । तीमध्ये धुलिखेलमा ६५, बनेपामा ५०, पनौतीमा १०, नमोबुद्धमा १८ र पाँचखाल नगरपालिकामा ११ शय्या तथा रोशी गाउँपालिकामा १०, महाभारतमा ३५, भुम्लुमा ३०, बेथानचोकमा १०, तेमालमा चार र खानीखोला गाउँपालिकामा १५ शय्याको क्वारेन्टाइन निर्माण गरिएको छ । धुलिखेल अस्पतालमा आठ र बनेपास्थित शिरमेमारियल अस्पतालमा पाँच शय्याको आइसोलेसन कक्षको पनि निर्माण भएको छ । काभ्रेपलाञ्चोकमा छ नगरपालिका र सात गाउँपालिका छन् ।

कार्यालयका अनुसार माघ महिनायता ४५१ जना विदेशबाट घर फर्किएको तथ्याङ्क छ । तीमध्ये चैत महिनामा मात्रै २५१ जना विदेशबाट घर फर्किएको पाइएको छ । घर फर्किएकाको स्थानीय तहको समन्वयमा ¥यापिड डायग्नोष्टिक टेष्ट (आरडीटी) भइरहेको बताइएको छ । विदेशबाट घर फर्किएकामध्ये हालसम्म १८९ को आरडीटी भएको छ ।

यसैबीच, परीक्षणका क्रममा मङ्गलबार दुई युवामा कोरोना भाइरस सङ्क्रमणको शङ्का देखिएकाले दुबै जनालाई धुलिखेल अस्पतालस्थित आइसोलेशन कक्षमा राखिएको डा झाले बताए । उनले शङ्का लाग्दैमा ‘कोरोना पोजेटिभ’ भनेर प्रचार गर्न नहुने बताए ।

कारोना भाइरसको शङ्कामा आइसोलेशनमा राखिएका बेथानचोक गाउँपालिका–५ का २८ वर्षीय युवा गत चैत ९ गते घर फर्किएका थिए । गत चैत ७ गते दुवईबाट घर फर्किएका मण्डनदेउपुरका अर्का २३ वर्षीय युवा नगरको होम क्वारेन्टाइनमा बसेर घर फर्किएका हुन् ।

प्रतिक्रिया