महाशिवरात्रिमा सहभागी हुने साधु–सन्तले स्वास्थ्य मापदण्ड पालन गर्नुपर्ने
काठमाडौं । महाशिवरात्रि पर्वमा सहभागी हुन आउने साधुले कोरोना संक्रमणबाट जोगिने सबै मापदण्ड पाललना गर्नुपर्ने भएको छ ।
महाशिवरात्रिमा सहभागी हुन आउने साधुले मास्क लगाएर, सेनिटाइजर प्रयोग गरेर, बारम्बार हात धोएर र भोतिक दूरी कायम गरेर मात्र धुनी जगाउन पाउने छन् ।
पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष डा. मिलनकुमार थापाले पर्वमा स्वास्थ्य शिविर खडा गर्ने गरी नेपाल रेडक्रस, परोपकार, रामघाट स्वास्थ्य केन्द्र, बागमती अञ्चल आयुर्वेद औषधालयलगायत केही निजी अस्पतालले निःशुल्क स्वास्थ्य परीक्षण गर्दा साधु सन्त र भक्तजनले यी मापदण्ड पूरा गरे नगरेको पनि अनुगमन गर्नछन् ।
बागमती अञ्चल आयुर्वेद औषधालय प्रमुख डा. अञ्जु कार्कीका अनुसार औषधालयबाट आयुर्वेदीय उपचार हुनेछ । पिङ्गलास्थानस्थित रामघाट स्वास्थ्य केन्द्रका अध्यक्ष प्रवेश भण्डारीका अनुसार आवश्यक परेमा साधु सन्तको पीसीआर परीक्षण गरिने छ । यद्यपी कोरोनाविरुद्धको खोप साधु सन्तलाई दिने कार्यक्रम भने छैन ।
पशुपति क्षेत्रमा पर्व मनाउन साधुको आगमन सुरु भइसकेको छ । धुनी जगाउन सयौँ केजी दाउरा ल्याइसकिएको छ ।
कोषका कार्यकारी निर्देशक डा. घनश्याम खतिवडाले महाशिवरात्रिमा भक्तजनलाई सामाजिक दूरी कायम गर्ने गरी मन्दिरका चारै ढोका खुला गरेर आवागमन व्यवस्था गरिने बताए ।
प्रतिक्रिया