लकडाउनमा पशुपतिः साधुसन्तलाई खाना अभाव, साँढे मन्दिर बाहिरै
काठमाडौं । पशुपतिनाथ मन्दिर तलको वाग्मती नदी छेउमा एक साधु ‘तिर्खा लाग्यो, कोही पानी त देऊ’ भन्दै कराउँदै थिए । वाग्मती किनारमा थौरै मानिस पनि बसिरहेका देखिन्थे । उनीहरु पट्यार र दिक्क मानेर बसेझैँ लाग्यो । आपसमा भलाकुसारी भने गरिरहेका थिए । अलिक नजिक जाँदा नदी किनारमा शव ठड्याएर राखेको देखियो । दुई तीन जनाले शवमाथि वाग्मतीको पानी छर्कदै थिए । धेरै अनुमान गर्नै परेन, उनीहरु दाहसंस्कारको तयारीमा थिए । तिनै मलामीतर्फ हेरेर साधु पानीका लागि गुहार्दै थिए तर मलामीलाई आफन्त गुमाएको पीडा । यस्तोमा ती साधुतर्फ उनीहरुको ध्यानै कसरी जाओस् ।
मङ्गलबार दिउँसो पशुपतिनाथ मन्दिर क्षेत्रमा पुग्दा एक प्रकारको सन्नाटा थियो । दर्शनार्थी कोही पनि थिएनन् । थिए त मलामी र तीन चार साधु । नदी किनारमा एउटा मात्र शव राखिएको थियो । किनारमा लहरै दाहसंस्कारका लागि बनाइएको स्थलमा दाउरा राखिएको थियो । अरु बेला दाउराका लागि कुर्नुपथ्र्यो । अहिले यहाँ लकडाउनमा दाहसंस्कार गर्न पहिलाको जस्तो शव ल्याइएको छैन । सरकारले दाहसंस्कारका लागि कुनै रोक त गरेको छैन । बरु दाहसंस्कारका लागि चाहिने स्रोतसाधनको पर्याप्त व्यवस्था गरेको छ । “किन हो कुन्नि लडकडाउन शुरु भएयता दाहसंस्कार गर्न पहिलाको जस्तै शव ल्याएको पाइन्नँ”, पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशन डा घनश्याम खतिवडाले भने, “हामीले दाहसंस्कारको सबै चाँजोपाँजो मिलाइदिएका छौँ, कुनै कुराको कमी हुन दिन्नौँ ।”
वाग्मतीपारि जान खोज्दा साँढेले बाटो छेक्यो । अजङ्गको साँढे पुलमा उभिएको थियो । त्यसको अवस्था देख्दा निकै भोकाएको जस्तो देखिन्थ्यो । हत्तपत्त साँढेले बाटो छोडेन । नदीपारि पनि साँढे यत्रतत्र थिए । श्लेषमान्तक वनतर्फको बाटोमा गोबरैगोबर थियो । लकडाउनयता उक्त क्षेत्रमा सरसफाइ गरिएको छैन । उकालो चढ्दा बाटोमा अर्का साधु भेटिए । उनले नेपालीमा कुरा गर्न सकेनन् । भारतबाट आएका साधुले हिन्दीमै जवाफ फर्काए । लकडाउनपछि बाहिरबाट आएका साधुले पशुपतिनाथ मन्दिर क्षेत्र छाडेको उनको भनाइ थियो । “म पनि यहाँ धेरै बस्दिनँ, खानपिनको समस्या छ”, उनले भने ।

प्रतिक्रिया