शुक्रबार, वैशाख १४, २०८१

कोरोना : भारतमा एकैदिनमा १ हजार ७ जना नयाँ संक्रमित, यस्तो छ प्रादेशिक अवस्था !

नेपालखोज २०७७ वैशाख ५ गते १३:५३

काठमाडौँ । गएको २४ घन्टायता भारतमा १ हजार ७ जना कोरोना भाइरसका नयाँ संक्रमितहरु थपिएका शुक्रबार जनाइएको छ ।
शुक्रबार बिहानको तथ्यांकअनुसार भारतमा ‘कोविड १९’ का संक्रमितहरुको संख्या १३ हजार ३८७ जना पुगेको यहाँँको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जानकारी दिएको छ ।

भारतमा देखिएका यी संक्रमितहरुमध्ये १ हजार ७४९ जना भने उपचारपछि निको भएर फर्किएका छन् । मन्त्रालयले दिएको जानकारीअनुसार हाल यहाँ ११ हजार २०१ कोरोनाका संक्रमित विरामी अस्पतालमा उपचाररत रहेका छन् ।

भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले दिएको जानकारीअनुसार भारतभर गएको २४ घन्टायता मृत्यु हुनेको संख्या २३ रहेको छ । योसँगै भारतमा कोरोना संक्रमणबाट ज्यान जानेको संख्या ४३७ पुगेको छ ।

पछिल्ला केही दिनमा कोविड १९ का संक्रमितहरुको संख्या बढ्दै गएको सरकारको भनाइ छ । भारतमा शुरुदेखि नै सबैभन्दा बढी संक्रमित महाराष्ट्र राज्यमा देखिएका छन् । शुक्रबार पनि यो क्रम जारी नै रहेको सो मन्त्रालयले जानकारी दिएको छ ।

महाराष्ट्रमा कोविड १९ का संक्रमितहरु दिन प्रतिदिन बढ्दै गएका छन् । महाराष्ट्र राज्यमा मात्र संक्रमितहरुको संख्या ३ हजार २०५ जना पुगेको शुक्रबार उक्त मन्त्रालय जानकारी दिएको छ ।
यसैबीच महाराष्ट्रमा ३०० जना उपचारपछि निको भएर घर फर्किएका बताइएको छ । महाराष्ट्र हालसम्म कोरोना भाइरस संक्रमणबाट १९४ जनाको मृत्यु भईसकेको प्राप्त समाचारमा जनाइएको छ । यसरी भारतका अरु राज्यहरुको तुलनामा महाराष्ट्र सबैभन्दा बढी प्रभावित भएको भारतीय सञ्चार माध्यमले जानकारी दिएको छ ।

महाराष्ट्रपछि कोरोना संक्रमणको दोस्रो स्थानमा दिल्ली रहेको छ । यहाँ मात्र १ हजार ६४० जना कोरोना भाइरस संक्रमित रहेका छन् । दिल्लीमा कोरोना भाइरस संक्रमणबाट ३८ जनाको मृत्यु भईसकेको प्राप्त समाचारमा जनाइएको छ । यसैबीच ५१ जना भने उपचारपछि घर फर्किएका छन् । भारतमा यसरी दिन प्रतिदिन नयाँ नयाँ संक्रमितहरु थपिँदै जानु चुनौतीपूर्ण भएको यहाँका स्वास्थ्य अधिकारीहरुले जनाएका छन् ।

यसैगरी यस प्रकोपको प्रभावित भारतीय राज्य तमिलनाडु तेस्रो स्थानमा रहेको छ । तमिलनाडुमा कोरोना संक्रमण भएका व्यक्तिको संख्या १ हजार २६७ जना पुगेको शुक्रबार बिहान प्राप्त समाचार जनाइएको छ ।यी संक्रमितहरु मध्ये १८० जना भने उपचारपछि घर फर्किएका छन् । तमिलनाडूमा कोरोना संक्रमणबाट १५ जनाको मृत्यु भईसकेको छ ।

कोराना प्रकोपको संक्रमणको चौथो स्थानमा राजस्थान रहेको र यहाँ १ हजार १३१ कोरोना संक्रमित रहेका शुक्रबार जनाइएको छ । ती मध्ये १६४ जना उपचारपछि घर फर्किसकेका छन्, भने तीन जनाको मृत्यु भएको छ ।

त्यसैगरी भारतको मध्यप्रदेश कोरोना भाइरसका संक्रमणको पाँचौ स्थानमा रहेको यहाँ १ हजार १२० जना सक्रमित रहेका छन् । मध्यप्रदेशमा यस संक्रमित मध्ये ६४ जना निको भएर घर फर्किएका छन् भने ५३ जनाको मृत्यु भएको छ । यस प्रकोपबाट ज्यान गुमाउनेको संख्या मध्ये प्रदेशमा महाराष्ट्रपछि दोस्रो स्थानमा रहेको पाइएको छ ।

उत्तर प्रदेशमा कोविड १९ सक्रमण ८०५ जनामा रहेको छ भने, केरलामा ३९५ यो संक्रमण देखिएको छ । तेलङ्गना, गुजरात र छत्तीसगलगायतका राज्यहरुमा कोरोनाका संक्रमितहरु भेटिएका छन् । गएको २४ घन्टायता भारतमा पहिलेको तुलनामा धेरै संक्रमित भेटिएका जनाइएको छ ।

भारतमा कोरोना भाइरसको संक्रमण बढदै गएपछि सरकारले कोरोना भाइरस ९कोविड–१९० को सङ्क्रमण रोक्नको बन्दाबन्दी ९लकडाउन० लाई आगामी मे महिनाको ३ तारिखसम्म लम्ब्याएको घोषणा गरेको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गत महिना घोषणा गर्नु भएको २१ दिने लकडाउनको अवधि समाप्त हुँदै गरेको अवस्था पुनः १९ दिनको लकडाउनलाई जोडिएको घोषणा गरेका थिए ।

प्रधानमन्त्री मोदीले गत मङ्गलबार टेलिभिजनबाट सम्बोधन गर्दै भने, “लकडाउनको अबको अवस्थामा अनुगमन कार्यलाई झनै कडा पारिनेछ । आगामी अप्रिल २० तारिखसम्म देशका विभिन्न राज्य तथा जिल्लामा लकडाउन के कसरी कार्यान्वयन भएको छ भन्ने बारेमा विशेष अनुगमन गरिनेछ ।

”यदि राज्य तथा जिल्लाहरुमा लकडाउन राम्रोसँग कार्यान्वयन भएको देखिएमा ती क्षेत्रमा अप्रिल २० पछि अत्यावश्यक सेवा र वस्तुका लागि केही खुकुलो गरिने उनले बताए।

प्रतिक्रिया