शुक्रबार, वैशाख १४, २०८१

कोरोना : विज्ञ टोली भेरी अस्पतालमा

नेपालखोज २०७७ वैशाख ६ गते १४:१८

नेपालगञ्ज । नेपालगञ्ज स्थित भेरी अस्पतालमा कोभिड—१९संक्रमणको परीक्षणका लागि आवश्यक चाँजोपाँजो मिलाउन काठमाण्डौंबाट विज्ञसहितको टोली आइपुगेको छ । शुक्रबार अपरान्ह नेपालगञ्ज पुगेको टोलीले स्वाब परीक्षणको प्रक्रियागत विषयमा सो अस्पतालका माइक्रोबायोलोजिष्ट तथा ल्याब प्राविधिकसँग छलफल शुरु गरिसकेको छ ।

पोलिमरेज चेन रियाक्सन (पिसिआर) प्रविधिविज्ञ सुलभ आचार्यसहितको टोलीले ‘भ्यालिडेट’ दिएपछि मात्र स्वाब परीक्षण शुरु हुने अस्पताल प्रमुख डा. प्रकाशबहादुर थापाले बताए । टोलीले पिसिआर ल्याबको निरीक्षण, उपकरणको जाँच र अस्पतालका माइक्रोबायोलोजिष्टलाई आवश्यक तालिम दिने काम अहिले गरिरहेको छ । ‘आज साँझसम्म हामी एउटा स्वाब परीक्षण गर्छौँ, उपकरणले दुरुस्त काम ग¥यो भने सम्भवतः आइतबार बिहानैवाट नियमित परीक्षण शुरु हुनेछ’—डा. थापाले भने ।

भेरी अस्पतालमा पिसिआर उपकरण एक साताअघिनै जडान भइसके पनि सञ्चालन विज्ञ र आवश्यक किट्स केन्द्रबाट आउन ढिलाई भएकाले सुरु हुन ढिलाइ भएको हो । बाँकेमा आरटीडी र पीसीआर विधिबाट ४८३ जनाको कोरोना भाइरस नमूना जाँच गरिएकोमा सबैको रिर्पोट नेगेटिभ आएको स्वास्थ्य कार्यालय, बाँकेका फोकलपर्सन नरेश श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया