आइतबार, असार ८, २०८२

लकडाउनपछि विश्‍वभर वायुको गुणस्तरमा सुधार !

नेपालखोज २०७७ वैशाख ८ गते ७:१६

काठमाडौँ । कोभिड–१९ महामारीले ठूला सहर लकडाउन भएपछि संसारभर नै वायुको गुणस्तरमा उल्लेख्य सुधार आएको पाइएको छ । कोभिड–१९ का कारण संसारका आधा मानिस घरभित्र बस्न बाध्य छन् । सवारी साधन, कलकारखाना, भट्टीलगायत सबै बन्द छन् । वायुको गुणस्तरमा सुधार त्यसैको प्रतिफल हो ।

लकडाउनले वातावरणमा आएको परिवर्तनबारे विस्तृत वैज्ञानिक अध्ययन गर्न बाँकी नै छ । नेपालस्थित ग्लोबल इन्स्टिच्युट फर इन्टरडिस्प्लिनरी स्टडिजका तीन जना तथा जर्मनी र अस्ट्रेलियाका तीन जना अनुसन्धानकर्ताले गरेको अनुसन्धानले पनि लकडाउनपछि सधैं व्यस्त रहने सहरमा वायु प्रदूषणको मात्रा उल्लेख्य घटेको देखाएको छ ।

डा. अशेश्वरमान श्रेष्ठ, डा. उत्तमबाबु श्रेष्ठ, रोशन शर्मा, डा.सुरज भट्टराई, हान ट्रान र डा. महेश्वर रूपाखेतीको संयुक्त टोलीले ६ वटै महादेशका ३५ देशका ४० वटा सहरको वायु प्रदूषणको अवस्था अनुसन्धान गरेका हुन् । उनीहरूको अनुसन्धान ‘अर्थ आर्जिभ’ जर्नलमा प्रि–प्रिन्ट (अन्तिम प्रतिवेदनअघिको निष्कर्ष) भर्खरै प्रकाशित भएको छ । अन्तिम प्रतिवेदन सार्वजनिक हुन बाँकी नै छ ।

नेपालका अनुसन्धान संस्था र विश्वविद्यालयहरू अलमलमा परिरहेका बेला उनीहरूले नेपालबाटै विश्वका सहरहरूको प्रदूषण अध्ययन गर्ने अग्रसरता देखाएका हुन् । यो खबर कान्तिपुर दैनिकमा छ ।

प्रतिक्रिया