बुधबार, वैशाख १२, २०८१

गाउँ प्रवेश गरे जरिवानाः संक्रमणको डरले पुल बन्द

नेपालखोज २०७७ वैशाख ८ गते ८:३६

सिमकोट । हुम्ला जिल्लाको तल्लो क्षेत्रमा रहेको चंखेली गाउँपालिका वडा ५ नेप्का गाउँमा अनुमतिविना गाउँ प्रवेश गर्ने जो कोहीलाई रु ३० हजार जरिवाना तोकिएको छ । गाउँमा कोभिड–१९ को संक्रमण फैलिन नदिन वडा नं ५ कार्यालयले यस्तो निर्णय गरेको हो ।

छपन्न घरधुरी रहेको सो वडाले मुगु र हुम्ला जिल्लाको चंखेली सीमाबाट दैनिक हुम्ला प्रवेश गर्न थालेपछि नेप्का गाउँमा अनुमतिविना प्रवेश गर्नेलाई जरिवाना गर्ने निर्णय भएको वडाध्यक्ष भैरव तामाङले जानकारी दिए ।

सूचनाको पहुँच नभएकाले युवकलाई दैनिक पालो लगाएर बाटामै राख्ने गरिएको वडाध्यक्ष तामाङले बताए । लकडाउनको अवधिभर आआफ्नो घरमा सामाजिक दूरी कायम गरी सुरक्षित रुपमा बस्नसमेत निर्देशन दिइएको जनाइएको छ ।

संक्रमण डरले पुल नै बन्द
उत्तरी नाम्खा गाउँपालिका वडा नं ३ मा कोरोना भाइरसको संक्रमणको जोखिमबाट जोगिन स्थानीयवासीले टुक्सोखोल्मु पुल नै बन्द गरेका छन् । अपरिचित व्यक्तिलाई गाउँमा छिर्न नदिन पुल बन्द गरिएको हो । कोरोना भाइरस संक्रमणको जोखिम बढ्ने भएकाले स्थानीय युवा पालो मिलाएर पुलमा २४ सै घण्टा खटिने गरेको नाम्खा गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर लामाले जानकारी दिए । वडा नं ३ को खगालगाउँ नजीकै टुक्सोखोल्मु पुल र लामाखोल्सीमा गाउँका युवा पालो मिलाएर खटिन्छन् ।

कोरोना भाइरस संक्रमणको जोखिमबाट जोगिन गाउँपालिकाले आवतजावत रोक्नाका साथै लकडाउनको उल्लंघन गरी गाउँ प्रवेश गरे जरिवाना तिराउनेसमेत निर्णय गरेको छ ।

प्रतिक्रिया