कोरोनाको उपचारमा खटिने स्वास्थ्यकर्मीलाई नगरपालिकाले ५० प्रतिशत प्रोत्साहन भत्ता दिने

नेपालखोज २०७७ वैशाख ८ गते १४:०८

दैलेख । लकडाउन अवधिभर कोरोना भाइरसको उपचारमा खटिने स्वास्थ्यकर्मीलाई दैलेखको आठविस नगरपालिकाले ५० प्रतिशत प्रोत्साहन भत्ता उपलब्ध गराउने निर्णय गरेको छ । नगरपालिकामा कार्यरत स्थायी र करार स्वास्थ्कर्मीलाई स्थानीय कर्मचारीको हकमा शुरुको तलब स्केल करारमा कार्यरत कर्मचारीको हकमा सम्झौतामा उल्लिखित तलबमानको ५० प्रतिशत रकम प्रोत्साहनस्वरुप मासिकरुपमा उपलब्ध गराउने निर्णय भएको प्रमुख प्रशासकीय अधिकृत युवराज न्यौपानेले जानकारी दिए।

“यस्तो सुविधा नगरकार्यपालिकाको कार्यालयका लकडाउनको अवधिमा खटिइएका बढीमा आठ जना कर्मचारीलाई समेत उपलब्ध गराउन सकिनेछ”, प्रमुख प्रशासकीय अधिकृत युवराज उनले भने । “लकडाउन अवधिभरमा करारमा कार्यरत स्वास्थ्यकर्मी बिरामी भई अस्पतालमा भर्ना भई उपचार गर्नुपर्ने भएमा निजको उपचार खर्चको ५० प्रतिशत रकम नगरपालिकाले र निज कर्मचारी मृत्यु भएको अवस्थामा निजको परिवारलाई एकमुष्ट रु पाँच लाख आर्थिक सहायता उपलब्ध गराउने निर्णय भएको छ ।”

बैठकले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेको लकडाउनले ज्याला मजदूरी गरेर जीवन धान्दै आएका परिवारलाई छाक टार्न समस्या भएको भन्दै विपन्न परिवारलाई यस हप्ताभित्र राहत वितरण गरिने नगरपालिकाले जनाएको छ । बैठकले कोरोना भाइरसको रोकथामका लागि नगरपालिकाभित्र रहेका अनमी, एचए, ल्याब टेक्निसियन, स्टाप नर्स आदि अध्ययन पूरा गरेकालाई कोरोनाविरुद्धको स्वयंसेवकका रुपमा खटाउने सोका लागि तीन दिनेभित्र वडा कार्यालय निजको विवरण तयार गरी नगरपालिमा पठाउने निर्णय र विवरण पठाउँदा कृषि तथा पशुसम्बन्धी प्राविधिक शिक्षा पूरा गरेका व्यक्तिको विवरणसमेत समावेश गरी पठाउने निर्णय भएको प्रमुख प्रशासकीय अधिकृत न्यौपानेले जानकारी दिए । नगरमा हाल एक जना चिकित्सकसहित ६९ जना अन्य स्वास्थ्यकर्मीसहित कूल ७० जना कार्यरत रहेका छन् ।

प्रतिक्रिया