सोमबार, माघ २३, २०७९

दुई जिल्ला जोड्ने एशियाकै अग्लो झोलुङ्गे पुल सम्पन्न

नेपालखोज २०७७ वैशाख ९ गते ११:१२

पर्वत । छिमेकी जिल्ला बागलुङलाई पर्वतको कुश्मासँग जोडने गरी निर्माण भएको एशियाकै लामो झोलुङ्गे पुल सम्पन्न भएको छ । एक वर्षअघिदेखि निर्माण शुरु भएको पुल यसै सातादेखि सञ्चालनमा आएको हो ।

कुश्मा नगरपालिका–१ पाङ अदुवाबारीबाट बागलुङ नगरपालिका–१ रामरेखा जोड्ने ५६७ मिटर लामो झोलुङ्गे पुल निर्माण सम्पन्न भएको हो । पुल निर्माणको सम्पूर्ण काम सकिएको निर्माण कम्पनी थानी, बिएलटी हिमशिखर कन्स्ट्रक्सनका प्रतिनिधि नरहरि खड्काले जानकारी दिए ।

पुलको आज उद्घाटन गर्ने कार्यक्रम तयार भए पनि लकडाउनका कारण प्रभावित भएको खड्काले बताए । कालिगण्डकी नदीमाथि बनेको झण्डै १३० मिटर अग्लो झोलुङ्गे पुलको लठ्ठा तान्न गाह्रो र चुनौतीपूर्ण भए पनि आधुनिक प्रविधिको सहायताले नमूना परियोजना सम्पन्न भएको ठेकेदार कम्पनीका प्रतिनिधि खडकाको भनाइ छ । लकडाउन अवधिमा पनि १६ कामदारले नियमित काम गरेका थिए ।

निर्माणको काम सकिएपछि उनीहरु पाङतर्फको भागमा बसेका छन् । पुलमा २८ वटा लठ्ठा तानिएको छ । पुलमा कूल ९४५ स्टिलडेक (फ्ल्याक) बिछ्याइएको छ । पुलको प्रति वर्गफिटमा चार जना अट्न सक्ने क्षमता रहेको र पुल भरिभराउ भए पनि थेग्न सक्ने क्षमताको रहेको छ । पुल लामो हुने भएकाले बाइक सञ्चालनमा रोक लगाइने छ । पुलको आयु ५० वर्षसम्म रहेको छ ।

प्रतिक्रिया