बिहीबार, वैशाख ६, २०८१

अध्यादेश तुरुन्त फिर्ता लिन विपक्षी दलको सरकारलाई चेतावनी

नेपालखोज २०७७ वैशाख १० गते १९:४७

काठमाडौँ । सोमबार जारी गरेका अध्यादेश फिर्ता लिन प्रतिपक्षी दलहरुले सरकारसँग आग्रह गरेका छन् । अध्यादेश फिर्ता नदिए कडा प्रतिवाद हुने चेतावनीसहित प्रमुख प्रतिपक्षी दलहरुले यस्तो आग्रह गरेका हुन् । सरकारले जारी गरेका अध्यादेशबारे साझा धारणा बनाउन आज कांग्रेस केन्द्रीय कार्यालय सानेपामा बसेको प्रतिपक्षी दलको संयुक्त बैठकले मुलुक संकटमा परेका बेला बेमौसमी बाजा बजाउँदै आफ्नो दुनो सोझ्याउने तर्फ प्रधानमन्त्री केपी शर्मा ओली केन्द्रित भएको निष्कर्ष निकालेको छ । सरकारले जारी गरेका पछिल्ला दुई अध्यादेशले लोकतन्त्र समाप्त पार्न, राजनीति अस्थिरता निम्त्याउन र तानाशाह व्यवस्थातर्फ मुलुकलाई लैजाने ठहर बैठकले गरेको छ । सरकारले जारी गरेका दुई अध्यादेशमा क्रमशः राजनीतिक दलसम्बन्धी अध्यादेशमा पार्टी फुटाउन केन्द्रीय समिति वा संसदीय दलमा ४० प्रतिशत भए पुग्ने र संवैधानिक परिषदसम्बन्धी अध्यादेशमा प्रतिपक्षी दलको नेताविना संवैधानिक परिषद्को बैठक बसेर आवश्यक निर्णय गर्न सक्ने व्यवस्था छ । सानेपामा बसेकोबैठकले सरकारका जनविरोधी कदमविरुद्ध पुनः विपक्षी दलहरुबीच बैठक बस्ने र त्यसमा नागरिक समाजका अगुवाहरुलाई पनि सहभागिता गराउने निर्णय गरेको छ । नागरिकको दुःखप्रति सरकार संवेदेनशील नभएको भन्दै बैठकले जनविरोधी कदमविरुद्ध लाग्न सबैसँग अपिलसमेत गरेको छ । छलफलमा कांग्रेसका शीर्ष नेता, समाजवादीका डा।बाबुराम भट्टराई र उपेन्द्र यादव, अशोक राई राजपाबाट महन्थ ठाकुर, राजेन्द्र महतो, शरदसिंह भण्डारी र राप्रपाबाट पशुपतिशम्शेर राणाको सहभागी थिए । बुधबार प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको पार्टी कार्यालय सानेपामा प्रतिपक्षी दलहरुबीच तीन घन्टासम्म यस विषयमा छलफल भएको थियो ।

प्रतिक्रिया