बिहीबार, चैत १५, २०८०

कर्णालीमा कोभिड–१९ को परीक्षण तीव्र पारिँदै, थपियो पिसिआर

नेपालखोज २०७७ वैशाख १३ गते १४:४१

सुर्खेत । कर्णाली प्रदेशमा कोभिड –१९ को परीक्षण दायरा तीव्र पार्न रियल टाइम–पोलिमर चेन रिएक्सन (आरटी–पिसिआर) मेसिन थप गरिएको छ । प्रदेश सरकारको अनुरोधबमोजिम स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले परीक्षण तीव्र पार्न त्रिभुवन विश्वविद्यालयका माइक्रोबायोलोजिष्टसहित पिसिआर मेसिन पठाएको हो ।

मन्त्रालयले प्रयोगशालामा परीक्षण शुरु गर्न सहयोगका लागि विभागका प्रमुखसहित चार कर्मचारीलाई खटाएको छ । विभागका प्रमुख सहप्राध्यापक डा मेघराज बञ्जाराको नेतृत्वमा अर्का सहप्राध्यापक डा देवराज जोशी, अनिल शाह र विराज लोहनी सुर्खेत आइपुगेका छन् । जर्मनीमा बनेको कोरोना भाइरस जाँच्ने ठूलो क्षमताको पिसिआर मेसिन पशु स्वास्थ्य प्रयोगशालामा जडान गरिँदैछ ।

हाल प्रदेश अस्पताल कालागाउँमा मात्रै पिसिआर मेसिन छ । यसको परीक्षण क्षमता कम हुनाका साथै ‘क्रस भेरिफिकेसन’ गर्न आवश्यक परेकाले स्वास्थ्य मन्त्रालयले त्रिविका विशेषज्ञसहित पठाएको हो । प्रदेश सरकारका सामाजिक विकासमन्त्री दल रावलले अब ‘क्रस भेरिफिकेसन’को काम प्रदेश अस्पताल सुर्खेतबाटै हुने बताए । यसअघि सुर्खेतमा रहेको पिसिआर मेसिनबाट कोरोना भाइरस परीक्षण गरिए पनि अन्तिम टुङ्गो लगाउन ९क्रस भेरिफिकेसन० भन्दै सङ्क्रमण आशङ्का गरिएका व्यक्तिको स्वाब काठमाडौंँ पठाउनुपर्ने बाध्यता थियो ।

प्रदेश अस्पतालमा रहेको मेसिनले दैनिक १० देखि १४ वटा स्वाबको परीक्षण गर्न सक्छ । त्यही कारण कर्णालीमा सङ्कलित स्वाबका नमूना काठमाडौँ र धनगढी पठाउने गरिएको थियो । पिसिआर थपसँगै अब कोरोना आशङ्कितको स्वाब नमूना काठमाडौँ पठाउनुपर्ने बाध्यता हट्ने विश्वास गरिएको छ ।

प्रतिक्रिया