एक हजार परिवारलाई राहत वितरण

नेपालखोज २०७७ वैशाख १४ गते १०:४९

भक्तपुर । योयो बैंक्वैट र मानवीय आस्था नेपालले शनिबार स्थानीय अतिविपन्न एक हजार परिवारलाई राहत वितरण गरेको छ । सूर्यविनायक, पाण्डुबजार, घलाते, दार्जलिङ हाइटलगायतका स्थानीय गरिब तथा अतिविपन्न ६०० परिवारलाई योयो बैंक्वैटबाट राहत वितरण गरिएको बैंक्वैटका अध्यक्ष श्रीभक्त कासिछ्वाले जानकारी दिए ।

त्यसैगरी सिपाडोल क्षेत्रका ४०० परिवारलाई वाग्मती क्लबबाट राहत वितरण गरेको जानकारी दिँदै उनले प्रतिपरिवार रु एक हजार बराबरको चालम, दाल, नुन, मस्यौरा र तेल राहत दिएको जानकारी दिए । धेरैजस्तो मजदुर घर फर्किसकेको र घर फर्कन नपाएका र यतै बस्ने मजदुर, गरिब तथा अतिविपन्न परिवारलाई राहत वितरण गरिएको हो । मानवीय आस्था नेपालले अहिलेसम्म भक्तपुरमा पाँच हजारभन्दा बढी परिवारलाई राहत वितरण गरेको र दैनिक सडक मानव, भोकै बसेका अहिलेसम्म १० हजारभन्दा बढीलाई खाना खुवाएको मानवीय आस्था नेपालका दिनेश थापाले जानकारी दिए ।

त्यसैगरी जिल्ला खेलकूद विकास समिति, मानवीय आस्था नेपाल, मध्यपुरथिमि नगरपालिकालगायत विभिन्न निकायले पैदलयात्री, भोकै रहेका नागरिक, असहाय, मजदुर एवं गरिबका लागि गठ्ठाघरचोकमा सञ्चालित सामूहिक मेसका लागि मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले ५० बोरा चामल प्रदान गरेका छन् । त्यस्तै नगरपालिकाले थिमिको कमेरोटार र बोडेमा त्यस्ता नागरिकलाई निःशुल्क खाना खुवाउने व्यवस्था गर्दै सामूहिक मेस सञ्चालन गरेको छ ।

कोही पनि व्यक्ति भोकै बस्नु नपरोस् भनेर मेस सञ्चालन गरी निःशुल्क खाना खुवाउने व्यवस्था गरेको र यो व्यवस्था लकडाउनभरि जारी राख्ने नगरप्रमुख श्रेष्ठले जानकारी दिए । केही दिनअघि हिँडेर घर जान बाध्य मजदुरलाई राष्ट्रिय खेलाडी मन्डेकाजी श्रेष्ठसहितले खाजाको प्याकेट र जुत्ता वितरण गरेका थिए ।

प्रतिक्रिया