शनिबार, वैशाख १५, २०८१

सिरहामा स्वाब सङ्कलनमा तीव्रता

नेपालखोज २०७७ वैशाख १४ गते १२:४४

सिरहा । छिमेकी जिल्ला उदयपुरमा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि सिरहाका विभिन्न छ स्थानीय तहमा स्वाब नमूना सङ्कलन कार्यलाई तीव्रता दिएको छ । स्वास्थ्यकर्मीसहितको टोलीले सिरहा नगरपालिका, लहान नगरपालिका, मिर्चैया नगरपालिका, गोलबजार नगरपालिका र कल्याणपुर नगरपालिका तथा अर्नामा गाउँपालिकामा स्वाब सङ्कलन कार्यलाई तीव्रता दिएको हो ।

स्वास्थ्यकर्मीको टोलीले पहिलो दिन शनिबार मात्रै लहान नगरपालिकामा ६९, गोलबजार नगरपालिकामा ६४, मिर्चैया नगरपालिकामा ६० र अर्नमा गाउँपालिकामा ५० गरी २४३ जनाको स्वाब सङ्कलन गरेको सिरहाका प्रमुख जिल्ला अधिकारी सरोज गुरागाईँले जानकारी दिए ।

गोलबजार नगरपालिकाको ६४ मध्ये १० जना धनगढीमाई नगरपालिकाका रहेको गोलबजार स्वास्थ्य शाखा प्रमुख सरोजकुमार कर्णले जानकारी दिए । सिरहा नगरपालिका र कल्याणपुर नगरपालिकामा आज स्वाब सङ्कलन गरिने जनाइएको छ ।

नेपाली सेना, मेडिकल ल्याब एशोसिएशन अफ नेपाल (मेलान) र इडिसिटीबाट आएको प्राविधिक टोलीले स्वाब सङ्कलन गरिरहेका छन् । उदयपुर जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि सिरहामा उच्च सतर्कता अपनाउँदै पिसीआर प्रविधिबाट परीक्षण गर्न स्थानीय तहमा स्वाब सङ्कलन शुरु गरिएको प्रजिअ गुरागाईँले बताए । सङ्कलित स्वाबको नमूना परीक्षणका लागि एम्बुलेन्सबाट शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पताल टेकु काठमाडौँ पठाइएको प्रजिअ गुरागाईँले बताए ।

प्रतिक्रिया