सरकारी वकिल कार्यालयबाट सांसद र पूर्व महानिरीक्षकविरुद्धको मुद्दा दर्ता अस्वीकार
काठमाडौँ । सरकारी वकिलको कार्यालय, काठमाडौँले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसदहरु महेश बस्नेत र कृष्णकुमार श्रेष्ठ (किसान) तथा नेपाल प्रहरीका पूर्व महानिरीक्षक सर्वेन्द्र खनालविरुद्ध अपहरणको जाहेरी दर्ता गर्न अस्वीकार गरेको छ ।
आज दिउँसो जनता समाजवादी पार्टीका नेताहरु बस्नेत, श्रेष्ठ र खनालविरुद्ध जाहेरी दर्ताकालागि सरकारी वकिलको कार्यालय पुगेका थिए । तर दुई घण्टा लामो छलफलमा पनि सरकारी वकिलको कार्यालयका प्रमुख हरिप्रसाद रेग्मीले दर्ता गर्न नमानेको बताइएको छ । महानगरीय प्रहरी परिसर, काठमाडौंले जाहेरी दर्ता गर्न अस्वीकार गरेपछि हामी फर्कियौँ जसपाका एक नेताले भने ।
बस्नेत, श्रेष्ठ र खनालले तत्कालीन समाजवादी पार्टीका सांसद डा. सुरेन्द्र यादवलाई १० वैशाखमा महोत्तरीबाट काठमाडौं ल्याएका थिए । डा. यादवले आफूलाई अपहरणको शैलीमा काठमाडौंमा ल्याएको बताएका छन् ।
महोत्तरीबाट काठमाडौं ल्याएको भोलिपल्ट बिहानै सांसद यादव मेरियट होटलबाट भागेर समाजवादी पार्टीका नेताहरूको सम्पर्कमा पुगेका थिए ।
खनाल, श्रेष्ठ र बस्नेतले भने उनकै सहमतिमा काठमाडौं ल्याइएको दावि गर्दै आएका छन् ।

प्रतिक्रिया