लकडाउन कार्यान्वयनमा प्रहरीको थप सक्रियता
काठमाडौं । विश्वव्यापीरूपमा फैलिएको कोभिड–१९ को सङ्क्रमण रोक्न नेपाल प्रहरीले मुलुकभर थप सक्रियता बढाएको छ । सरकारले जारी गरेको लकडाउनलाई पूर्ण कार्यान्वयनका लागि प्रहरीले गाउँगाउँसम्म सक्रियता बढाएको हो । गृहको निर्देशनअनुसार पछिल्लो समयमा प्रहरीले लकडाउनलाई थप कडाइसमेत गरेको छ ।
प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीले लकडाउनका बेला व्यक्तिलाई घरबाट बाहिर निस्कन नदिन र पासबिनाका सवारी आवागमनमा रोक लगाउन मातहतका प्रहरीलाई आवश्यक निर्देशन दिएको बताए । कालोबजारी नियन्त्रण गर्ने, लकडाउन पालना गराउने तथा अनुगमन गर्ने एवं उल्लङ्घन गर्नेलाई नियन्त्रणमा लिने काममा समेत प्रहरी सक्रिय रहेको प्रहरी महानिरीक्षक ज्ञवालीको भनाइ छ ।
प्रहरीले करिब ३५ हजारपटक माइकिङ गरेर सचेतनामूलक कार्यक्रम गरेको जानकारी दिँदै उनले अपराध अनुसन्धान, अपराध नियन्त्रण तथा शान्ति सुरक्षाका साथै विपद् र विषम परिस्थितिबाट सिर्जित घटना रोक्न योजनाबद्धरूपले काम अघि बढाइएको बताए ।
लकडाउनको कार्यान्वयन अनुगमनका लागि आधुनिक प्रविधि (ड्रोन) को समेत प्रयोग गरी प्रहरीले गतिविधिको निगरानी गरिरहेको छ । पहिलोपटक घरबाट बाहिर निस्केका व्यक्तिलाई लकडाउनको जानकारी गराएर जहाँबाट आएको हो त्यहीँ फिर्ता पठाउने र पुनः दोहो¥याएर आएमा आवश्यक कारवाही गर्ने गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

प्रतिक्रिया