बर्खे अधिवेशनका बारे प्रधानमन्त्री र सभामुखबीच छलफल

नेपालखोज २०७७ वैशाख १७ गते १४:३४

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्घीय संसद्को आगामी बजेट अधिवेशन सञ्चालनका लागि भइरहेको भौतिक पूर्वाधार र अन्य व्यवस्थापनको तयारीबारे जानकारी लिएका छन् । नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवन गई उनले सदनमा सरकार, सत्तापक्ष र प्रतिपक्ष सांसदका लागि सामाजिक दूरी कायम हुने गरी तयार गर्न लागिएको सिट व्यवस्थापन अवलोकन गरी जानकारी लिएका हुन् ।

प्रधानमन्त्रीसँग अवलोकनमा सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र कानून, न्याय तथा संसदीय मामिला मन्त्री डा शिवमाया तुम्बाहाङ्फे छन् ।

यसैबीच, प्रधानमन्त्री ओली र सभामुख सापकोटाबीच आगामी सङ्घीय संसद्को बर्खे अधिवेशन आह्वानसँग केन्द्रित रहेर छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएका छलफलमा उनीहरुबीच आगामी अधिवेशन आह्वानलगायत विषयमा विचार विमर्श भएको सङ्घीय संसद् सचिवालयका कार्यवाहक महासचिव गोपालनाथ योगीले जानकारी दिए।

नेपालको संविधानले सरकारको सिफारिसमा राष्ट्रपतिलाई सङ्घीय संसद्को अधिवेशन आह्वान र अन्त्य गर्ने अधिकार प्रदान गरेको छ । राष्ट्रपतिबाट यस अधिवेशनमा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत हुन्छ । नेपाल सरकारका अर्थमन्त्रीले हरेक आवका लागि राजश्व र व्ययको अनुमान ९बजेट० प्रत्येक वर्ष जेठको १५ गते सङ्घीय संसद्मा पेश गर्नुपर्ने संवैधानिक व्यवस्था छ । बजेट प्रस्तुत गर्नु १५ दिनअघि प्रि–बजेट छलफलका लागि संसद्को बैठक बस्नुपर्ने कानूनी व्यवस्था छ । बजेटअघि नीति तथा कार्यक्रम प्रस्तुत हुन्छ । बर्खे अधिवेशनलाई बजेट अधिवेशन पनि भनिन्छ ।

प्रतिक्रिया