लक डाउन : अनुगमन तीव्र, ७० लाखभन्दा बढी जरिवाना
काठमाडौँ । कोभिड–१९ को जोखिम हुन नदिन लकडाउन जारी रहँदा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले अनुगमनका क्रममा रु ७० लाख ६५ हजार कारवाही स्वरुपको जरिवाना असुल गरेको छ ।
यस अवधिमा विभागले काठमाडौँ उपत्यकाको विभिन्न स्थानमा गरेको अनुगमनका क्रममा कारवाहीस्वरुप व्यवसायीबाट उक्त रकम असुल गरेको हो । विभागका अनुसार यो लकडाउनपूर्व भन्दा बढी हो । सरकारले गत चैत ११ गतेदेखि नै देशभरि लकडाउन जारी गरेको थियो ।
विभागले गरेको विशेष अनुगमनका क्रममा सबैभन्दा बढी स्वास्थ्य सामग्रीका पसलमा अनियमितता पाएपछि जरिवानास्वरुप रकम असुलउपर गरेको हो ।
व्यवसायीले बढी मूल्य लिएको, दर्ता प्रमाणपत्र देखाउन नसकेको, नवीकरण नगरेको, अनुगमन टोलीलाई असहयोग गरेको र खरिद बिक्री बिल देखाउन नसकेकाले विभागले कारवाही गरी रकम असुल गरेको हो ।
विभागले हरेक दिन आठजनाको टोली बनाएर बजार अनुगमनलाई तीव्रता दिदै आएको छ ।अनुगमनका क्रममा रु पाँच हजारदेखि रु तीन लाखसम्म असुलउपर गर्न पाउने अधिकार कानूनीरुपमा रहेको छ ।
विभागका निरीक्षण अधिकृत दीपकराज पोखरेलका अनुसार लकडाउनयता २४५ वटा पसलको अनुगमन गरिसकेको छ ।
जहाँ सबैभन्दा बढी खाना पकाउने ग्यास ८० वटा पसलको अनुगमन गरेको छ । औषधि पसलको १९, खाद्यान्न ४६, डेरी तीन, तरकारी तीन, फलफूल चार, पेट्रोल पम्प २३ र सुपरमार्केटलगायत पसलको अनुगमन गरिसकेको छ ।
प्रतिक्रिया