लकडाउनः खाद्य वस्तुमा २० प्रतिशत मूल्य वृद्धि

नेपालखोज २०७७ वैशाख २० गते ९:५२

प्युठान । बन्दाबन्दीमा प्युठान जिल्लाका ग्रामीण क्षेत्रका दैनिक उपभोग्य खाद्य वस्तुमा मूल्य वृद्धि भएको छ । ग्रामीण क्षेत्रका स्थानीय व्यापारीले विभिन्न कारण देखाई दैनिक उपभोग्य वस्तुमा मूल्य वृद्धि गरेपछि उपभोक्ता मूल्य वृद्धिको चर्को मारमा परेका छन् ।

बन्दाबन्दी हुनु पहिले थोकमा रु एक हजार ९५० मा पाइने पचास किलोग्रामको परमल चामल अहिले रु दुई हजार १९० मूल्य कायम गरिएको छ । त्यही चामल गाउँमा रु दुई हजार तीन सयमा खुद्रा बिक्री हुँदै आएकामा हाल बढेर रु दुई हजार पाँच सयमा किनेर खानुपरेको गौमुखी गाउँपालिका १ अर्खाका मित्र थापाले बताए । “श्रमजीवीहरुको आयको बाटो टुटेको अवस्थामा खाद्यवस्तुमा मूल्य वृद्धि हुनुले समस्याग्रस्त बनाएको छ”, थापाले भने, “व्यापारीहरुले माथिबाटै मूल्यवृद्धि भइआएको कारण देखाउँदै बढी मूल्य लिने गरेका छन् ।”

गाउँमा रु २५ मा बिक्री भइरहेको नुन प्रतिकिलो रु ३०, चिनी रु ८५ बाट रु ९५, मसुरोको दाल रु। १३० बाट रु। १६० र शिवशक्ति तेल रु १५४ प्रतिलिटरबाट रु १८० मूल्य व्यापारीले कायम गरेकाले उपभोक्ता मारमा परेका छन् ।

प्युठान उद्योग वाणिज्य संघका अध्यक्ष केदारमान कक्षपति अधिकांश खाद्य वस्तु मुलुक बाहिरबाट आउने भएकाले डलरको भाउ वृद्धिसँगै मूल्य बढेको बताउछन् । “अन्तरराष्ट्रिय बजारमा डलरको भाउ वृद्धि भएपछि बाहिरी मुलकबाट आउने वस्तुको मूल्य वृद्धि भएको छ”, कक्षपतिले भने, “नेपालमा उत्पादित खाद्य उपजको कच्चा पदार्थको वृद्धि तथा बाह्य मुलुकबाटै सामान ल्याउनुपर्ने भएकाले मूल्य वृद्धि भएको हो ।” जिल्लामा कालोबजारी शून्य भएको बताउँदै उनले यसमा आफूहरुले समेत सबै पालिकामा समन्वय गरेको जिकिर गरे ।

सहायक प्रमुख जिल्ला अधिकारी गौरव पन्थीले लकडाउन व्यवस्थापनमै समय बढी ध्यान गएकाले हाल बजार अनुगमन नगरिएको बताए । बजार मूल्यबारे प्युठान उद्योग वाणिज्य संघसंँग निरन्तर समन्वय भइरहेको पन्थीको भनाइ छ ।

प्रतिक्रिया