शुक्रबार, चैत १६, २०८०

जङ्गली च्याउ खाँदा बिरामी

नेपालखोज २०७७ वैशाख २३ गते १८:१३

सङ्खुवासभा । सङ्खुवासभाको सभापोखरी गाउँपालिका–२ गोठगाउँमा जङ्गलबाट टिपेर ल्याएको च्याउ खाँदा तीन घरपरिवारका १० जना बिरामी परेका छन् ।

शनिबार बेलुकी च्याउको तरकारी खाएपछि २७ वर्षीय सन्देश राई, उनकी श्रीमती २४ वर्षीया मनिला राई, छोरी तीन वर्षीया सुपी राई बिरामी परेका थिए । उनीहरुका छिमेकी २४ वर्षीया अनिता राई, २१ वर्षीय दिनेश राई र तीन वर्षीया छोरी आकांक्षा राई गरी छ जना बिरामी परेपछि उपचारका लागि सोमबार जिल्ला अस्पताल खाँदबारीमा ल्याइएको छ ।

यस्तै राईका अर्का छिमेकी ३० वर्षीया कल्पना रिजाल र उनको छोरीहरु छ वर्षीया फूलकुमारी, ११ वर्षीया सुस्मिता र १३ वर्षीया बालकुमारी पनि च्याउ खाएपछि बिरामी परेका हुन् । उनीहरुलाई पनि सोमबार जिल्ला अस्पताल खाँदबारी ल्याइएको प्रहरी नायब उपरीक्षक मिमबहादुर लामाले बताए । अहिले उनीहरुको अवस्था सामान्य रहेको जिल्ला अस्पताल खाँदबारीका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा सुन्दरश्याम झाले बताए । जङ्गली च्याउ खाएर बिरामी परेकाको उपचार भइरहेकाले डराउनुपर्ने अवस्था नरहेको डा झाको भनाइ छ । गएको शनिबार सन्देश र मनिलाले जङ्गलबाट च्याउ टिपेर ल्याएपछि दुई घर छिमेकी अनिता राई र कल्पना रिजाललाई बाँडेर दिएका थिए ।

प्रतिक्रिया