कोरोना संक्रमणमा खटिएका पत्रकारलाई प्रेस ज्याकेट, पञ्जा र मास्क हस्तान्तरण
काठमाण्डौ । कोभिड १९, कोरोना संक्रमणका कारण विश्व आक्रान्त बनिरहेका बेलामा पनि आफ्नो स्वास्थ्यको जोखिम मोलेर आम नागरिकहरुलाई सूचना प्रवाहमा खटिएका सञ्चारकर्मीहरुका लागि काठमाण्डौका उत्साही युवा व्यवसायीहरुले कोरोना विरुद्धको अभियानमा क्रियाशील सञ्चारकर्मीहरुका लागि आवश्यक प्रेस ज्याकेट, पञ्जा र माक्स नेपाल पत्रकार महासंघको एशोशियट शाखा नेपाल पत्रकार मञ्चलाई हस्तान्तरण गरेका छन् ।
पिङ्गु सेरावगी, रवि अग्रवाल लगायतका युवा व्यवसायीहरुले नेपाल पत्रकार मञ्चलाई ५० थान प्रेस ज्याकेट, २ सय थान पञ्जा र ५सय थान माक्स नेपाल पत्रकार मञ्चका अध्यक्ष युवराज विद्रोहीलाई हस्तान्तरण गरेका हुन् ।
‘अत्यन्तै जोखिमपूर्ण अवस्थामा नाागरिकलाई सुसूचित गर्ने काममा अहोरात्र खटिने पत्रकारहरुका लागि आवश्यक पर्ने सामग्री उपलब्ध गराएकोमा युवा समाजसेवीहरुप्रति मञ्चका तर्फबाट हामी आभार प्रकट गर्दछौं,’ मञ्चका अध्यक्ष युवराज विद्रोहीले भने, ‘आगामी दिनमा पनि यस्तै सामाजिक कार्य गर्ने विभिन्न निकायसँग सहकार्य गर्नेछौ ।’
यस्तै युवा व्यवसायी तथा समाजसेवी पिङ्गु सेरावगीले यस्तो जटिल परिस्थितिमा पनि अहोरात्र खटिएर आम नागरिकहरुलाई सुसूचित गर्ने कार्यमा क्रियाशील पत्रकारहरुलाई आफूहरुले सहयोग गर्न पाएकोमा खुशी लागेको बताए ।
सो सामग्रीहरु विभिन्न सञ्चार माध्यममा क्रियाशील नेपाल पत्रकार मञ्चका सदस्यहरुलाई वितरण गरिएको छ । यस अघि पनि पत्रकार मञ्चले अग्रपंक्तिमा खटिएर समाचार संकलन रहेका पत्रकारहरुलाई मास्क वितरण गरिसकेको छ ।

प्रतिक्रिया