बाँकेका कोरोना सङ्क्रमितको ट्राभल हिस्ट्री खोजिँदै

नेपालखोज २०७७ वैशाख २४ गते १४:२३

बाँके । बाँकेमा फेला परेका कोभिड –१९ सङ्क्रमितको अझै पनि यात्रा विवरण (ट्राभल हिस्ट्री) खुल्न सकेको छैन । भ्रमण विवरण खुल्न नसक्दा कोरोना सङ्क्रमणको सुरुको अवस्था पत्ता लगाउन कठिन भएको छ ।

कोरोना भाइरस सङ्क्रमणको क्षेत्र नेपालगञ्ज उपमहानगरपालिका ८ जोल्हनपूर्वामा पहिलो पटक गएको शुक्रबार एक ६० वर्षीय पुरुषमा कोरोना सङ्क्रमण पोजेटिभ फेला परेको थियो ।

त्यसपपछि उनी बसोबास तथा आवत जावत गर्ने क्षेत्र बन्द गरेर स्थानीयवासीको स्वाब परीक्षण गर्दा सात वर्षीय बालक तथा नौ वर्षकी बालिकासहित २२ जनामा पोजेटिभ देखिएको हो ।

स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले सङ्क्रमितको ट्राभल हिस्ट्री पत्ता लगाउन नसकिएकाले सङ्क्रमण कहाँदेखि फैलियो भन्ने थाहा पाउन गाह्रो भएको बताए ।

पहिलो सङ्क्रमित ६० वर्षीय पुरुष भारतको रुपैडिहा, नानपारालगायत ठाउँमा आवात जावात गरेको देखिए पनि टाढाको ‘ट्राभल हिस्ट्री’ नदेखिएकाले ती पुरुषलाई नै यकिनसाथ पहिलो केस भन्न नमिल्ने उहाँको भनाई छ ।

स्वास्थ्यकर्मीले सङ्क्रमितलाई पछ्याउँदै परीक्षण तीव्र बनाइरहेका छन् । यो सङ्ख्या अझै बढ्ने आँकलन गरेर स्थानीय प्रशासनले नेपालगञ्जमा निषेधाज्ञा घोषणा गर्दै सुरक्षा व्यवस्था निकै कडा बनाएको छ ।

प्रतिक्रिया