लकडाउनका कारण कलकत्ता बन्दरगाहमा रोकिए दुई हजार कन्टेनर
काठमाडौं । लकडाउनका कारण कलकत्ता बन्दरगाहमा दुई हजार कन्टेनर रोकिएका छन् । नेपाल र भारत दुवैतर्फ लकडाउन जारी रहेका कारण त्यसको प्रत्यक्ष असर समान ढुवानीमा परेको हो ।
कलकत्ता बन्दरगाहका डेपुटी ट्राफिक मेनेजर कौशिक मुखर्जीले सडक यातायात सञ्चालन नहुँदा बन्दरगाहबाट सामान निकासीमा समस्या देखिएको बताएका छन् ।
बन्दरगाहमा राख्दा समस्या हुने भएपछि कतिपय कन्टेनरलाई पोर्टले नै बाहिर ठाउँ खोजेर राखिदिएको उनले बताए । बन्दरगाहले मार्च २३ देखि मे ३ सम्मका लागि कन्टेनरको डेमरेज चार्ज छुट सुविधा दिएको छ ।
सामान्य अवस्थामा सडक यातायातबाट नेपालमा ढुवानी हुने कन्टेनरलाई १५ दिन र रेलबाट ढुवानी हुने कन्टेनरलाई २० दिन मात्रै डेमेरेज छुट दिने गरिएको छ । रेलमार्फत हुने समान ढुवानीमा कुनै असर नपरेको उनको भनाइ छ ।
उद्योगी व्यवसायीले समयमै सामान नलगेका कारण वीरगञ्जस्थित सिर्सिया सुख्खा बन्दरगाहमा ४ हजार कन्टेनर जम्मा भएर बसेको बन्दरगाह सञ्चालक कम्पनी हिमालयन टर्मीनलका सीईओ विष्णुकान्त चौधरीले बताएका छन् ।
प्रतिक्रिया