लुम्बिनीमा रतनसूत्र पाठ गरि बुद्ध जयन्ती मनाइयो, केहिबेरमा घर–घरमा दीप प्रज्वलन गरिदैँ
लुम्बिनी । महामारीबाट छुटकारा पाउन गरिने रतनसूत्र पाठ गरेर २५६४औं बुद्ध जयन्ती मनाइएको छ । संसारले चाँडै नै कोरोना भाइरसको संक्रमणबाट मुक्ति पाउन भन्दै बुद्ध जन्मस्थल लुम्बिनीमा रतनसूत्र पाठ गरिएको हो ।
शान्ति र सद्भावको वातावरणमा १५ भिक्षु, लामागुरु र गुरुआमाले प्रार्थना गरेका छन् । आज वैशाख शुक्ल पूर्णिमा अर्थात २५६४ औँ बुद्ध जयन्ती, भगवान् बुद्धप्रति आस्था प्रकट गरी मनाउने गरिन्छ ।
गौतम बुद्धको जन्म, बुद्धत्व प्राप्ति र महापरिनिर्वाण प्राप्ति पनि वैशाख शुक्ल पूर्णिमाकै दिन भएकाले यस दिनलाई बौद्ध धर्मावलम्बीले त्रिसंयोग दिवसका नामले महत्वपूर्ण दिनको रुपमा लिने गर्छन् ।
नेपालको लुम्बिनीमा इसापूर्व ५६३ अर्थात् आजभन्दा २५६४ वर्षअघि सिद्धार्थ गौतमको जन्म वैशाख शुक्ल पूर्णिमाकै दिनमा भएको थियो । राजा शुद्धोधन र रानी मायादेवीको सुपुत्रका रुपमा जन्मनुभएका सिद्धार्थ गौतमले २९ वर्षको उमेरमा घरबार र दरबार त्यागी ज्ञानको खोजीमा लाग्नुभयो ।
६ वर्षको तपस्यापछि ३५ वर्षको उमेरमा इसापूर्व ५२८ मा भारतको बौद्धगयामा वैशाख शुक्ल पूर्णिमाकै दिन सिद्धार्थ गौतमलाई बुद्धत्व प्राप्ति भएपछि भगवान बुद्धका रुपमा उहाँले विश्व प्रसिद्धि पाउनुभयो ।
सरकारले आज बुद्ध जयन्तीको अवसरमा सार्वजनिक बिदा दिएको छ । यस्तै बुद्धजयन्तीका अवसर पारेर सरकारले आज साँझ सात बजे घर–घरमा दीप प्रज्वलन गर्न पनि आग्रह गरेअनुसार दिपप्रज्वलन गरिँदै छ ।

प्रतिक्रिया