सोमबार, असार ९, २०८२

लकडाउन खुकुलो पारिएपछि व्यवसायी उत्साहित

नेपालखोज २०७७ वैशाख २६ गते ७:४०

काठमाडौँ । ६० लाख ऋण लगानीमा कुखुरापालन सुरु गरेका काभ्रेको पनौती नगरपालिका मल्पीका राधाकृष्ण अधिकारी लकडाउनलगत्तै निकै आत्तिए । व्यवसाय राम्रो हुने समयमै कोभिड–१९ को संक्रमण फैलिन थालेपछि सरकारले लकडाउन घोषणा गरेकाले लगानी डुब्ने डरले उनी आत्तिए ।

फार्ममा करिब ४ हजार लेयर्स कुखुरा छन् । दैनिक १ सय ५ क्रेट अन्डा उत्पादन हुन्छ । ‘लकडाउनपछि बजार लग्न रोकावट त छैन,’ उनी भन्छन्, ‘तर यो बेला राम्रो मूल्य पाउने आशा थियो, सस्तोमै बेच्नुपर्‍यो ।’

मन्त्रिपरिषद् बैठकले बुधबार कुखुरापालनदेखि उद्योग, कलकारखाना सञ्चालन, ढुवानी तथा उत्पादन बिक्रीवितरणमा रोकावट नगर्ने निर्णय गरेपछि अधिकारी उत्साहित भएका छन् । ४४ दिनसम्म काभ्रेमै मात्र आफ्नो उत्पादन बिक्री गरिरहेका उनले अब काठमाडौं पठाउने योजना बनाएका छन् । के कस्ता उद्योग व्यवसायलाई कस्तो प्रकारको नीति लिने भन्नेबारे सरकारले प्रस्ट पारिदिएको छ ।

सरकारको यो निर्णयबाट उद्योगी, व्यवसायी तथा किसानलाई उत्साह मिलेको व्यवसायीले बताएका छन् । कतिपय उद्योगले लकडाउनमा पनि उत्पादन जारी राखेका थिए । सरकारले व्यापार, उद्योग, कृषि, निर्माण तथा बैंकिङ क्षेत्रको गतिविधिका लागि विभिन्न व्यवस्था गरी ती क्षेत्रमा लकडाउन खुकुलो हुने व्यवस्था गरेपछि सबैजसो उद्योग सञ्चालनको तयारीमा छन् । जलविद्युत् र साना तथा ठूला पूर्वाधार आयोजनाको कामसमेत अघि बढाउन सहज हुँदै गएको उद्योगी व्यवसायीले ठानेका छन् । कतिपय क्षेत्रबारे सरकारले थप प्रस्ट पार्नुपर्ने उनीहरूको सुझाव छ । यो खबर कान्तिपुर दैनिकमा छ।

प्रतिक्रिया