बुधबार, वैशाख १९, २०८१

पर्वतमा एसइईका विद्यार्थीलाई रेडियोबाट ट्युसन

नेपालखोज २०७७ वैशाख २६ गते ९:४५

पर्वत । विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरस सङ्क्रमणका कारण डेढ महिनाभन्दा लामो बन्दाबन्दी जारी छ । बन्दाबन्दीका कारण अन्योलमा परेको (एसइई) माध्यमिक शिक्षा परीक्षा दिने १० कक्षाका विद्यार्थीलाई सहयोग गर्न पर्वतमा रेडियोबाट ट्युसन पढाउन शुरु गरिएको छ ।

पर्वतको कुश्मा नगरपालिकाले गत चैत ६ गतेदेखि शुरु हुने भनिएको विद्यालय शिक्षा परीक्षा एसइई स्थगन भएर घरमै बसिरहेका विद्यार्थीलाई पढाइमा सहयोग गर्न अनिवार्य तीन विषयको रेडियो ट्युसन कक्षा सञ्चालन गरेको हो । लकडाउनको समयलाई सदुपयोग गराउने काममा सहयोग गर्न नगरपालिकाले स्थानीय पञ्चासे एफएम, रेडियो शालिग्राम र रेडियो कुशुमबाट प्रत्येक दिन अनिवार्य अङ्ग्रेजी, अनिवार्य गणित र अनिवार्य विज्ञान विषयको रेडियो ट्युसन कक्षा सञ्चालन गरेको हो । इन्टरनेटको पहुँच नगरभित्र सबै ठाउँमा नपुगेकाले रेडियोमार्फत कक्षा सञ्चालन गरिएको नगरपालिकाले जनाएको छ ।

विषयगत विज्ञता भएका शिक्षकहरुको परिचालन गरेर रेडियोमार्फत एसइई दिने विद्यार्थीको पढाइमा सहयोग गर्न रेडियो ट्युसन कक्षा सञ्चालन गरिएको कुश्मा नगरपालिकाका नगरप्रमुख रामचन्द्र जोशीले जानकारी दिए । लामो समय परीक्षा स्थगन हुँदा र घरमा बस्दा दिक्क मानिरहेका र फुर्सदमा भएका विद्यार्थीलाई व्यस्त राख्न र उनीहरुको सिर्जनात्मक विकास तथा पुनःताजगीका लागि हौसला प्रदान गर्न नगरपालिकाको खर्चमा रेडियोमार्फत ट्युसन पढाइ कार्यक्रम शुरु गरिएको जोशीले बताए ।

प्रतिक्रिया