संसद अधिवेशनमा एकतावद्ध प्रयासका साथ अघि बढ्न सांसदहरुलाई प्रधानमन्त्रीको निर्देशन

नेपालखोज २०७७ वैशाख २६ गते १६:०७

काठमाडौं । सत्तासिन दल नेपाल कम्युनिष्ट पार्टीभित्र आन्तरिक तथा बाह्य विवाद चलिरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले भने आफ्ना सांसदहरुलाई एकताका साथ प्रस्तुत हुन निर्देशन दिएका छन् ।

शुक्रबारबाट सुरु हुने संघीय सदनको बर्षे अधिवेशनअघि नेकपाका सांसदहरुलाई पत्र लेख्दै उनले एकतावद्ध र दृढताका साथ प्रस्तुत हुन भनेका छन् । प्रधानमन्त्रीले सरकारले ल्याउने नीति तथा कार्यक्रम र बजेटको पक्षमा उभिन लिखित निर्देशन दिएका हुन् ।

‘संसदका दुवै सदनका बैठक छोटा छरिता र मर्यादित एवम् विषय केन्द्रित हुनुपर्ने र संसदमा हाम्रो दलको एकता र विषयगत एकरूपता स्पष्ट देखिनु पर्ने आवश्यकतालाई माननीयज्यूहरूले बुझ्नु नै भएको छ’, प्रधानमन्त्री ओलीले सांसदलाई पठाएको पत्रमा भनिएको छ, ‘विगतमा जस्तै यस संसद अधिवेशनमा पनि सक्रिय, समझदारीपूर्ण र एकतावद्ध प्रयासका साथ अघि बढ्न म नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलका सबै माननीयज्यूहरुमा अनुरोधका साथ निर्देशन गर्दछु।’

संघीय संसदको दुवै सदनको बैठक सुरु हुनुअघि आज शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, संसदीय दलका उपनेता सुवासचन्द्र नेम्बाङलगायतका नेताहरुसहित बैठक बसेको थियो । त्यसपछि प्रधानमन्त्रीले ओलीले नेकपाका सांसदहरुलाई यस्तो निर्देशन दिएका हुन् ।

प्रतिक्रिया