विदेशमा रहेका नेपालीलाई देश निकाला गरेजस्तो भयो यो तः भट्टराई

नेपालखोज २०७७ वैशाख २६ गते १७:३३

काठमाडौं । जनता समाजवादी पार्टीका नेता बाबुराम भट्टराईले महामारी रोकथामबारे सरकारको तयारी पर्याप्त नभएको बताएका छन् ।आजबाट शुरु भएको संघीय सदनको बर्षे अधिवेशनलाई सम्बोधन गर्दै भट्टराईले बन्दाबन्दी गर्ने बाहेक अन्य प्रयास प्रयाप्त हुन नसकेको बताए ।

“सरकारले बोल्दा त ठीकठाक भइरहेको छ भनिएला, तर रोकथामको अवस्था ठीकठाक छैन”, उनले भने । भट्टराईले विदेशमा रहेका नेपालीलाई स्वदेशमा ल्याउनुपर्ने बताए ।

विदेशमा रहेका नेपालीहरुलाई देश निकाला गरेजस्तो भएको उनले बताए । “उताबाट आफ्नो देश जाऊ भन्छ, अनि हामी नआउ भन्ने ?”, उनले भने । भट्टराईले विदेशमा रहेका नेपालीलाई अनागरिक बनाइएको बताए ।

महामारी रोकथामबारे सरकार ढुक्क भएर बस्ने अवस्था रहेको नरहेको उनले बताए । “अहिले आरोप–प्रत्यारोपको समय नरहेकाले अझै एकजुट भएर अगाडि बढनुपर्ने भट्टराईले बताए ।

भट्टराईले किसान तथा मजदुरको अवस्था दयनीय भएकाले उनीहरुलाई विशेष कार्यक्रम ल्याउनुपर्ने माग गरे । “लकडाउनमा हामी सांसदहरुले तलब लिएर बस्यौं, तर मजदुरहरुको अवस्था दयनीय छ”, भट्टराईले भने ।

उनले माध्यमिक शिक्षा परीक्षा (एसईई) नलिन पनि सुझाव दिएका छन् । “लकडाउन खुलेको भोलिपल्टै विद्यालय खुल्छ भनिएको छ । यसले विद्यार्थीहरुलाई आतंकित बनाएको छ”, भट्टराईले भने ।

प्रतिक्रिया