महेश र सर्वेन्द्रविरुद्ध अपहरणको जाहेरीमा अनुसन्धान सुरु
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसद महेश बस्नेत र कृष्णकुमार श्रेष्ठ (किसान) तथा निवर्तमान प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालविरुद्धको अपहरण तथा शरीर बन्धक सम्बन्धी कसुरमा अनुसन्धान सुरु भएको छ ।
जिल्ला सरकारी वकिलको कार्यालय, बबरमहलले शुक्रबारआज दिउँसो महानगरीय प्रहरी परिसर काठमाडौंलाई सांसद सुरेन्द्र यादवले दिएको अपहरण मुद्दाको जाहेरीबारे जानकारी गराएपछि अनुसन्धान सुरु भएको हो ।
समाजवादी पार्टीका सांसद डा. सुरेन्द्र यादवले दिएको जाहेरी दर्खास्त अनुसन्धानका लागि काठमाडौं प्रहरीलाई पठाइएको सहायक जिल्ला न्यायाधीवक्ता नुमराज खनालर्ले बताउनुभयो ।
सरकारी वकिलले जाहेरी पठाएपछि ‘सांसद अपहरण’ प्रकरणमा अनुसन्धान थालिएको काठमाडौं प्रहरी परिसर, टेकुका प्रमुख एसएसपी श्यामलाल ज्ञवालीले जानकारी दिए । उनले प्रारम्भिक रुपमा घटनाको प्रकृति हेरेर विस्तृत अनुसन्धान गरिने बताए ।
लकडाउनको समयमा सांसदद्वय बस्नेत र श्रेष्ठ तथा पूर्वआईजीपी खनाल महोत्तरी पुगेर सांसद यादवलाई काठमाडौं ल्याएका थिए । सांसद यादवले आफूलाई इच्छाविपरीत काठमाडौं ल्याएको बताएका छन् ।
सांसदहरु बस्नेत र श्रेष्ठ तथा पूर्वआईजीपी खनालले सांसद यादवको इच्छाअनुसार काठमाडौं ल्याउन सहयोग गरेको बताएका छन् ।

प्रतिक्रिया