चितवनमा आक्रमण हुँदा तीनजना प्रहरी घाइते, एक राउन्ड हवाई फायर
चितवन । चितवनमा गाँजा बरामद गरी फर्किएको प्रहरी टोलीमाथि शुक्रबार राति आक्रमण भएको छ ।
आक्रमणका कारण प्रहरीले प्रयोग गरेको बा १२ च २७१ नम्बरको गाडीका सिसा फुट्नुका साथै तीनजना प्रहरी घाइते भएका छन् । प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन एक राउन्ड हवाई फायर गरेको थियो ।
शुक्रबार दिउँसो प्राप्त गरेको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय टाँडी चितवनबाट प्रहरी सहायन निरीक्षक हुसेन काजी राईको कमाण्डमा १० जनाको चितवनको राप्ति नगरपालिका–१२ धनमाग गैरी भन्ने क्षेत्रमा लागुऔषध गाँजा लुकाई छिपाई राखेको गाँजा बरामद गरेको थियो ।
उक्त गाँजा बरामद गरेर फर्किने क्रममा वडा नं ५ स्थित चैकीडाँडामा राति साढे ९ बजे करिब ३०० जनाको भेला भएका थिए । उक्त भेला भएका व्यक्तिहरुले प्रहरीमाथि आक्रमण गरेर गाँजा खोस्ने प्रयास गरेको थियो ।
रेस्क्यूका लागि भण्डाराबाट गएको प्रहरी निरीक्षकको टोलीमाथिसमेत आक्रमण भएकोले स्थितीलाई नियन्त्रणमा लिन एसएलआरबाट एक राउन्ड हवाई फायर गरी चार आक्रमणकारीलाई नियन्त्रणमा लिएको चितवन प्रहरीले जनाएको छ ।
प्रहरीले ३५ किलो गाँजा बरामद गरेको छ भने चितवन राप्ती नगरपालिका–५ बस्ने २४ वर्षीय रन्जित वाईवा, सुमन वाईवा, संचरास घलान र धन ब. घलानलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घाइते भएकाहरुको उपचार भइरहेको र अवस्था सामान्य रहेको जनाइएको छ ।
प्रतिक्रिया