भारतले लिपुलेकमा सडक उद्घाटन गरेको बारे सरकारले धारणा सार्वजनिक गर्नु पर्छ : नेता महत

नेपालखोज २०७७ वैशाख २७ गते १४:०३

काठमाडौँ । पूर्व परराष्ट्रमन्त्री तथा नेपाली कांग्रेसका नेता डा. रामशरण महतले लिपुलेकमा भारतले सडक उद्घाटन गरेकोबारे नेपाल सरकारले तत्काल आफ्नो धारणा सार्वजनिक गर्नुपर्ने बताएका छन् ।

विवादित भूमि भनेर भारतले नै स्वीकार गरेको क्षेत्रमा एकलौटी सडक निमार्ण भएको विषयमा नेपाल सरकारले तत्काल आफ्नो धारणा सार्वजनिक गर्नुपर्ने उनले बताए ।

नेता महतले यसबारे चीन र भारत दुवै राष्ट्रसँग नेपालले उच्च स्तरीय वार्ता गर्नुपर्ने समेत बताएका छन् । लिपुलेकमा सडक निमार्णका लागि चीन र भारतबिच सन २०१५ मै सहमति भएको तर त्यतिबेला सुशील कोइराला नेतृत्वको सरकारले गम्भीर आपत्ति प्रकट गरेपछि निर्माणको काम रोकिएको उनले दाबी गरे ।

उनले भने, ‘हामी सरकारमा रहेका बेला नै चीन र भारतबिच लिपुलेक हुँदै मानसरोवर जोड्ने सडक निमार्णको सम्झौता भएको थियो ।

तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले मोदीलाई फोन गरेर गम्भीर आपत्ति प्रकट गरेपछि निर्माण रोकिएको थियो, तर अहिले निर्माण भएर उद्घाटन समेत भइसकेछ, यो नेपालका लागि आपत्तिजनक र अमान्य विषय हो, सरकारले दुवै राष्ट्रसँग वार्ता गरोस् ।’

नेता महतले त्यतिबेला आफूले पनि दिल्लीमा परराष्ट्र सचिवसँगको छलफलमा गम्भीर आपत्ति प्रकट गरेको स्मरण गरे । उनले संसदीय समितिमा समेत यसबारे थुप्रै पटक चर्चा भएको उल्लेख गर्दै विवादित भूमिबारे यथासक्य चाँडो वार्ता गरेर टुंगोमा पुग्नुपर्ने बताए ।

प्रतिक्रिया