मंगलबार, वैशाख ३०, २०८२

विद्यार्थीको ठूलो हिस्सा अनलाइन भर्चुअल प्रणालीको पहुँचबाहिर छ : विज्ञ समिति

नेपालखोज २०७७ वैशाख २७ गते १५:५२

काठमाडौं । शिक्षा मन्त्रालयद्वारा गठित विज्ञ समितिले विद्यालय बन्द रहेका बेला रेडियो, टेलिभिजन र छपाइ सामग्रीसहित अनलाइन कक्षा सञ्चालन गर्नुपर्ने औंल्याएको छ ।

सरकारले दूरशिक्षाको योजना बनाउँदा सञ्चार सामग्रीमा पहुँच नभएका र रेडियो, टीभीमात्रै साथमा रहेका विद्यार्थी–अभिभावकलाई विशेष ध्यान दिनुपर्नेमा विज्ञहरूले जोड दिएका छन् ।

सहरी क्षेत्रका पनि ५० प्रतिशत विद्यार्थी मात्रै इन्टरेनटको पहुँचमा रहेकाले अन्य विकल्पको विस्तार गर्नुपर्ने समितिको निष्कर्ष छ । खुला विश्वविद्यालयका उपकुलपति लेखनाथ शर्माको संयोजकत्वमा गठित समितिले अनलाइन कक्षालाई प्रभावकारी बनाउन राज्यले पूर्वाधार सुनिश्चित गर्नुपर्ने सुझावसहित शिक्षामन्त्री गिरिराजमणि पोखरेललाई प्रतिवेदन बुझाइसकेको छ ।

गरिब परिवारका विद्यार्थीका लागि इन्टरनेटको शुल्क तिर्ने र अनलाइन अध्ययनका लागि चाहिने कम्प्युटर वा मोबाइललगायत अन्य साधनको पहुँच नभएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

विद्यार्थीको ठूलो हिस्सा अनलाइन भर्चुअल प्रणालीको पहुँचबाहिर रहेकाले अन्य शिक्षण विधि सँगसँगै अघि बढाउन सुझाव दिइएको हो । समितिमा विभिन्न विश्वविद्यालयका प्राध्यापक, शिक्षाविद्हरू सदस्य र ११ वटै विश्वविद्यालयका उपकुलपति सल्लाहकार थिए ।

समितिले अनलाइन कक्षामा मात्र जोड दिँदा विपन्न वर्गका विद्यार्थीलाई विभेद हुने ठहर गरेको छ । संकटका बेला शिक्षाक्षेत्रमा पनि सरकारले विशेष राहत प्याकेज ल्याउन जरुरी रहेको समितिले औंल्याएको छ ।

प्रतिक्रिया