भारतीय क्वारेन्टाइनबाट १५० भन्दा बढी नेपाली निकालिए

नेपालखोज २०७७ वैशाख २७ गते १६:४२

काठमाडौं । क्वारेन्टाइनबाट निकालिएका १५० भन्दा बढी नेपाली मजदुरको व्यवस्थापन गर्न दबाबस्वरुप भारतको उत्तराखण्ड प्रदेश कँग्रेस आइका महासचिव भुवन कापरी खटिमामा धर्नामा बसेका छन् ।

उत्तराखण्डको काशीपुर र रुद्रपुरमा १४ दिन क्वारेन्टाइन राखिएपछि क्वारेन्टाइन बसेको पत्र हातमा थमाउँदै नेपालीलाई शुक्रबार राती त्यहाँबाट लखेटिएको थियो ।

करिब १०० किलोमिटर पैदल हिँडेर भारतीय बजार खटिमा पुगेका १५० भन्दा बढी नेपालीले कँग्रेस प्रदेश महासचिव कापरीले भोजनको व्यवस्थापन समेत गरेका छन् ।

उनले लखेटिएका नेपालीलाई पुनः त्यही क्वारेन्टाइनमा राख्नुपर्ने, क्वारेन्टाइन नबसेकालाई खटिमामै क्वारेन्टाइनमा राख्नुपर्ने र नेपाल सरकारले पनि आफ्ना नागरिक लैजान पहल गरोस् भनेर आफुले धर्ना दिइएको बताएका छन् ।

अलपत्र नेपाली खटिमाको बसपार्क, सडक छेउछाउमा आश्रय लिइरहेका छन् । उनीहरु कञ्चनपुर, जाजरकोट, कालिकोट, डडेल्धुरा, कैलाली र बैतडीका स्थानीयवासी रहेको बुझिएको छ ।

कञ्चनपुरका सहायक प्रमुख जिल्ला अधिकारी गोकर्णप्रसाद उपाध्यायले सीमावर्ती भारतीय बजारमा नेपाली अन्यत्रबाट आइरहेको जानकारी प्राप्त भइरहेको बताए । उनीहरुलाई नेपाल ल्याउने विषयमा केन्द्रबाट केही निर्देशन नआएको उनको भनाई छ ।

प्रतिक्रिया