बुधबार, वैशाख १२, २०८१

एसईई परिक्षा लकडाउन खुलेपछि लिइन्छ : शिक्षा मन्त्रालय

नेपालखोज २०७७ वैशाख २८ गते १६:०३

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले माध्यमिक शिक्षा परीक्षा (एसईई) लकडाउन खुलेपछि लिइने जनाएको छ । विद्यमान ऐनअनुसार लिखित रूपमा लिइने परीक्षाबाट मात्र एसईईले कानुनी मान्यता प्राप्त गर्नेसमेत अधिकारीले स्पष्ट पारेका छन् ।

कोरोना भाइरस (कोभिड–१९) का कारण पूर्वनिर्धाति तालिकाअनुसार चैत ६ गतेबाट हुने एसईई परीक्षा अघिल्लो साँझ स्थगित गरिएको थियो । त्यसयता जनप्रतिनिधि र विज्ञले एसईईलाई फरक मोडबाट हुनुपर्ने बताउँदै आएका छन् ।

उक्त भनाइले विद्यार्थीलाई अन्योल सिर्जना गरेपछि मन्त्रालयले स्पष्ट पारेको हो । आन्तरिक मूल्यांकनबाट एसईईलाई मान्यता दिने हो भने त्यसअघि ऐन संशोधन भएमात्र सम्भव छ ।

शिक्षा पत्रकार सञ्जाल (इजोन)ले आइतबार आयोजना गरेको वेबिनारमा उहाँले उक्त विचार व्यक्त गरेका हुन् । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले लकडाउन खुलेको दुई हप्तापछि एसईई र अरु परीक्षा लिइने बताए ।

बोर्डको रेकर्डअनुसार यो वर्ष ४ लाख ८२ हजार ७ सय ७ जनाले एसईई दिने तयारीमा छन् । देशभरिमा १ हजार ९ सय ९७ परीक्षा केन्द्र विस्तार गरिएका छन् । प्रश्नपत्र सबै केन्द्र नजिकको प्रहरी चौकीमा सुरक्षित गरी राखिएका छन् ।

परीक्षा नियन्त्रक रामराज खकुरेलले कुनै पनि परीक्षार्थीलाई डेरा बस्नु नपर्ने गरी ७ सय २७ केन्द्र थप्ने योजना बनेको बताए ।

प्रतिक्रिया