स्वाधीनतामाथिको ठाडो हस्तक्षेप विरुद्ध कदम खै ? : कांग्रेस

नेपालखोज २०७७ वैशाख २९ गते १७:४०

काठमाडौँ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले नेपाली भूमि रक्षा गर्न उच्चस्तरीय कूटनीतिक पहलमार्फत भारत र चीनसँग वार्ता गर्न माग गरेको छ।
पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले सोमबार विज्ञप्ति जारी गरी सीमा विवादको दीर्घकालीन समाधानका लागि सुस्पष्ट ढंगले उच्चस्तरीय कूटनीति पहल गर्न सरकारसँग माग गरेका हुन्।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भने सोमबार संसदीय समिति बैठकमा पहिला भारतसँग रहेको सीमा विवाद समाधान गरेपछि मात्र चीनसँग वार्ता गर्नुपर्ने बताएका थिए।

कांग्रेसको विज्ञप्तिमा भनिएको छ, ुकालापानी, लिम्पियाधुरा, लिपुलेक लगायतका नेपाली भूमिबारे कांग्रेसले विगतदेखि नै राख्दै आएको प्रस्ट दृष्टिकोणको जगमा फेरि पनि हामी आग्रह गर्न चाहन्छौं, सरकारले उच्चस्तरीय कूटनीतिक प्रक्रियामार्फत आजको मुद्दा हल गर्न गम्भीर पहलकदमी गर्नुपर्दछ।ु

कांग्रेसले सुगौली सन्धिले नेपालको पश्चिमी सिमाना महाकाली नदी किटान गरेको ऐतिहासिक तथ्य नै विद्यमान प्रकरण समाधानको मूल आधार रहेको ठहर गरेको छ।

विज्ञप्तिमा भनिएको छ, ुअतः महाकाली नदी पूर्वको भूभाग कालापानीबाट भारतीय सैनिक फिर्ता हुनुपर्ने र लिपुलेक एवं लिम्पियाधुरासम्मको नेपाली भूमिमा नेपालको अविच्छिन्न अधिकार निर्वाध रहनु पर्ने धारणा आजको मितिमा पुनः दोहोर्याउन चाहन्छौं।ु

कांग्रेसले नेपाली भूमि अतिक्रमण गरेर सडक निर्माण गर्नु नेपालको स्वाधीनतामाथिको ठाडो हस्तक्षेप हो भन्दै त्यस्तो कदम अस्वीकार्य रहेको प्रस्ट पारेको छ।

भारतको पिथौरागढ हुँदै नेपालको लिपुलेक भएर चीनको मानसरोवर जोड्ने सडकको पृष्ठभूमिमा सन् २०१५ मेको भारत–चीन सहमतिप्रति कांग्रेस सभापति सुशील कोइरालाको नेतृत्वको सरकारले विरोध जनाएको पनि विज्ञप्तिमा स्मरण गरिएको छ ।

कांग्रेसले भनेको छ, ुहामी संसारका हरेक मुलुकको सार्वभौमिकताको सम्मान गर्दछौं र नेपालबारे अरु राष्ट्रसँग पनि त्यही अपेक्षा राख्दछौं। अतः दुबै छिमेकी मित्र राष्ट्रसँग ‘प्रस्ट धारणा र ऐतिहासिक तथ्यका आधारमा दीर्घकालीन समाधान’ नेपालको अहिलेको परिपक्व रणनीति हुनुपर्दछ।ु

सीमा अतिक्रमणको विरोधमा सामान्य वक्तव्य वा नोट जारी गरेर नेपाल सरकारको दायित्व पूरा नहुने पनि कांग्रेसले औंल्याएको छ।

प्रतिक्रिया