नेपालमा कोरोना संक्रमितको संख्या १ सय ३४ पुग्यो

नेपालखोज २०७७ वैशाख २९ गते २०:३७

काठमाडौं । विश्वव्यापी रुपमा महामारीका रुपमा फैलिँदै गएको कोरोना भाईरसको संक्रमण सोमबार एकैदिन २४ जनामा देखिएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ ।

स्वास्थ्य मन्त्रालयले गरेको पुष्टिसँगै नेपालमा संक्रमितको संख्या १ सय ३४ पुगेको छ । नेपालमा क्रमश कोरोना संक्रमण बढ्दै गईरहँदा पनि सरकारले गरेको लकडाउन उल्लंघन गर्नेहरुको संख्या पनि बढ्दै गईरहेको छ । विशेष गरी सरकारी निर्णय र जिल्ला प्रशासन कार्यालयहरुकै लापरवाहीका कारण यो अवस्था आएको हो भन्ने संकेत देखिएको छ ।

उपत्यका बाहिर जुन रुपमा कोरोना संक्रमण बढिरहेको त्यही रुपमा काठमाडौं भित्रनेहरुको संख्या पनि बढ्दै गईरहेको देखिन्छ । यसले काठमाडौंलाई क्रमश कोरोनाको जोखिमतिर घकेलिरहेको देखिन्छ । काठमाडौं उपत्यकाका स्थानीय सरकारका रुपमा रहेका नगरपालिकाहरुले केही समयका लागि उपत्यकामा मानिस भित्रन नदिने सरकारलाई आग्रह गरिरहँदा पनि त्यसले सार्थक रुप पाउन सकेको छैन ।

काठमाडौंमा २६ गतेदेखि सञ्चालनमा आएका कार्यालय र सवारी साधनको अवस्था हेर्ने हो भने काठमाडौंलाई जोखिम तर्फ धकेलिँदै गएको जस्तो भान भएको छ । सरकारले काठमाडौंलाई अझै केही समय लकडाउनलाई कडाई नगर्ने हो भने संक्रमणको जोखिम उच्च हुने स्वास्थ्य क्षेत्रका विज्ञहरुल बताउँदै आएका छन् ।

प्रतिक्रिया