सोमबार, असार ९, २०८२

१० वर्ष अघिबाट निर्माण सुरू गरिएको ब्रह्मदेवदेखि टिङ्करसम्मको बाटो निर्माण सुस्त

नेपालखोज २०७७ वैशाख ३१ गते ७:४५

काठमाडौं । १० वर्ष पहिलेबाट निर्माण सुरू गरिएको महाकाली कोरिडोरअन्तर्गत कञ्चनपुरको ब्रह्मदेव बजारदेखि दार्चुलाको टिङ्करसम्मको सडक निर्माण सुस्त भएको छ ।

यो सडक निर्माणपछि कञ्चनपुरको ब्रह्मदेव बजारदेखि झुलाघाट, दार्चुला र टिङ्कर हुँदै कालापानीसम्म पुग्न सहज हुने भए पनि यो यसको निर्माणले तीव्रता पाउन सकेको छैन । टिङ्करपछि कालापानी आउँछ ।

कालापानीको खोँचमा अहिले भारतीय सेनाको क्याम्प छ । अहिले टिङ्कर भञ्ज्याङको दक्षिणपट्टि नेपाली बस्ती रहे पनि उत्तरतर्फ नेपाली बस्ती छैन ।

आवश्यक बजेटको अभाव, आयोजना कार्यालय र निर्माण कम्पनीकोे बेवास्ताका कारण १ दशकको अवधिमा कुल ४ सय २५ किलोमिटर रहेको यस सडकको अहिलेसम्म जम्मा १२५ किलोमिटरमा मात्र ट्र्याक खोल्ने काम सम्पन्न भएको हो ।

४ वर्षमा निर्माण सम्पन्न गर्ने गरी आर्थिक वर्ष २०६५ र ६६ बाट बजेट विनियोजन गरी सुदूूरपश्चिमको ‘माइलस्टोन प्रोजेक्ट’ नाम दिइएको यो सडकको निर्माण सुरू भएको हो । २०६४ सालमै यो सडकको ‘सर्भे’ गरिएको थियो ।

यो सडकको निर्माण सम्पन्न गर्न कुल २० अर्ब रूपैयाँ खर्च हुने अनुमान गरिए पनि अहिलेसम्म सवा अर्ब रूपैयाँ मात्र खर्च हुन सकेको सो सडक आयोजनाले जनाएको छ । यो आयोजनाका लागि चालू आर्थिक वर्षमा ३२ करोड ६८ लाख रूपैयाँ विनियोजन गरिएको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

प्रतिक्रिया