शनिबार, वैशाख ८, २०८१

कोरोना : जुम्लाका एक हजार २६३ जनाको रिपोर्ट नेगेटिभ

नेपालखोज २०७७ वैशाख ३१ गते १४:४०

सुर्खेत । कोरोना भाइरसको परीक्षणका लागि ‘थ्रोट स्वाब’ सङ्कलन गरिएका जुम्लाका एक हजार २६३ जनाको रिपोर्ट नेगेटिभ देखिएको छ । जुम्लाका चन्दननाथ नगरपालिकासहित सात गाउँपालिकाबाट थ्रोट स्वाब सङ्कलन गरिएका ९२३ जनाको एकैपटक पिसिआर परीक्षण गर्दा रिपोर्ट नेगेटिभ देखिएको प्रतिष्ठान जुम्लाका प्रयोगशाला प्रमुख विवेक पुन मगरले जानकारी दिए। मङ्गलबारबाट बिहान ८ः०० बजेबाट शुरु गरिएको पिसिआर परीक्षण २४ घण्टामा सम्पन्न गरिएको र सबैको रिपोर्ट नेगेटिभ देखिएको उनले बताए।

प्रयोगशाला प्रमुख पुनका अनुसार प्रतिष्ठानले जुम्लाका सात गाउँपालिकामा सिञ्जा १९९, कनकासुन्दरी २००, हिमा ३७, तिला ७०, तातोपानी ११०, गुठीचौर ९५, पातारासी ७० र चन्दननाथ नगरपालिका ५८ जनाको स्वाब सङ्कलन गरेको थियो । त्यस्तै, कालीकोटमा दुई, मुगुमा पाँच र नेपाली सेना एक जनासमेतको स्वाब परीक्षण रिपोर्ट पनि नेगेटिभ आएको उनको भनाइ थियो ।

हाल प्रतिष्ठान जुम्लामा पिसिआर परीक्षण गरिएका ९२३ र यसअघि सुर्खेत तथा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा स्वाब परीक्षण गरिएका जुम्लाका ३४० जना सबैको रिपोर्ट नेगेटिभ आएको अस्पताल निर्देशक डा मङ्गल रावलले जानकारी दिए ।

प्रतिक्रिया