लकडाउन: रणनीति शून्यताको परिणाम

नेपालखोज २०७७ वैशाख ३१ गते १८:५०

टंककला तिमिल्सेना,
काठमाडौँ । नेपाली कांग्रेसले केपी शर्मा ओली नेतृत्वको सरकारले कोरोनाको मुद्दाभन्दा पनि आन्तरिक राजनीतिकको झमेलालाई बढी प्रथमिकतामा राखेको आरोप लगाएको छ । कोरोना भाइरस संक्रमण नियन्त्रणकालागि गरिएको लक डाउन समयको ५० दिनको आज समीक्षा गर्दै कांग्रेसले यस्तो आरोप लगाएको हो ।

कांग्रेसले मुलुकमा स्वास्थ्य संकट र लकडाउन हुँदा पनि सरकार राजनीतिक मुद्दामै अल्झिएको बताएको छ । सरकार जनस्वास्थ्यको विषयमा जति गम्भिर हुनु पर्ने त्यति भएको भनाई कांग्रेसको छ । सरकारको अदूरदर्शिता र रणनीति शून्यताको परिणाममा देशले लकडाउनको पीडा झेल्नु परेको कांग्रेसको आरोप छ।

यसैगरि, कांग्रेसले देश संकटमा परेका बेला सरकारलाई सहयोग गर्ने रणनीति लिएको समेत कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

अत्यावश्यक स्वास्थ्य सामग्रीको पर्याप्त व्यवस्था गर्न, विदेशमा अलपत्र नेपालीलाई उद्दार गर्नेलगायत मुद्दामा समेत सरकारलाई कांग्रेसले निरन्तर सुझाव दिइएको प्रवक्ता शर्माले बताए ।

कोरोनापछिको नेपालको अर्थतन्त्रबारे दूरगामी दृष्टिकोण निर्माण गर्न नेपाली कांग्रेसले यस बीचमा ‘अर्थतन्त्र केन्द्रित विशेष समिति’ गठन गरेर अध्ययन गरिसकेको जनाएको छ।

प्रतिक्रिया