कपिलवस्तुमा उच्च सतर्कता अपनाइदैं
कपिलवस्तु । जिल्लामा कोरोना भाइरस (कोभिड–१९) बढ्दै गएपछि उच्च सतर्कता अपनाइएको छ । जिल्लास्तरीय विपत् व्यवस्थापन समितिले अत्यावश्यकबाहेक घरबाट बाहिर ननिस्कन आग्रह गरेसँगै अहिले स्थानीय तहले समेत उच्च सतर्कता अपनाएका छन् ।
जिल्लाका १० मध्ये अहिलेसम्म आठ स्थानीय तहका ४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यशोधरा गाउँपालिकामा सबैभन्दा धेरै १२ जनामा संक्रमण देखिएको छ । कपिलवस्तु नगरपालिकामा नौ र कृष्णनगर नगरपालिकाका आठ जनामा संक्रमण पुष्टि भएको छ ।
यस्तै मायादेवी गाउँपालिका र बुद्धभूमि नगरपालिकाका चारचार, विजयनगर गाउँपालिकामा एक, शुद्धोधन गाउँपालिकाका एक र वाणगंगा नगरपालिकाकी एक बालिकामा संक्रमण देखिएको छ ।
शिवराज र महाराजगञ्ज नगरपालिकामा संक्रमण नदेखिएको प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले जानकारी दिए । उनका अनुसार कपिलवस्तुमा प्रवेश गर्ने र बाहिर जाने अत्यावश्यकबाहेकका व्यक्ति र सवारी साधनलाई पूर्ण रुपमा निषेध गरिएको छ ।
कपिलवस्तुका १४० स्थानमा क्वारेन्टाइन दुई हजार ९०८ शय्या संख्यामा छ । त्यस्तै चार हजार ४२६ जना क्वारेन्टाइनमा छन् । हालसम्म कपिलवस्तुमा ५९३ जनाको स्वाब परीक्षण गरिएको छ ।
के भन्छन पालिका प्रमुख
यशोधराको खोरिया गाउँ सबैभन्दा धेरै १२ जनामा संक्रमण देखिएकाले सिल गरिएको गाउँपालिका अध्यक्ष गिरजेश पाण्डेयले जानकारी दिए । यशोधराका अन्तरवडा आवतजावतसमेत पूर्णरुपमा बन्द गरिएको बताइएको छ ।
त्यस्तै कपिलवस्तु नगरपालिकामा भारतबाट आएका नागरिकलाई उच्च निगरानीमा राख्ने र आवतवाजावतमा पूर्ण रोक लगाइएको नगर प्रमुख किरण सिंहले बताए ।
अहिले नगरपालिकाका टोलका नागरिकसमेत सचेत भएकाले बाहिरबाट आउनेलाई प्रवेशमा रोक लगाई तत्काल क्वारेन्टाइनमा पठाउने गरिएको नगर प्रमुख सिंहले जानकारी दिए ।
प्रतिक्रिया