छाङ्रुमा सशस्त्र प्रहरीको गुल्म राख्ने सरकारको तयारी
दार्जुला । दार्चुलाको व्यास गाउँपालिका–१ स्थित त्रिदेशीय नाकाका रूपमा रहेको सामरिक महत्वको छाङ्रु (गागा) मा सरकारले सशस्त्र प्रहरीको गुल्म नै राख्ने तयारी थालेको छ ।
बुधबार सशस्त्र प्रहरीको सीमा निगरानी चौकी (बिओपी) स्थापना गरिएको यहाँ १६० सशस्त्र प्रहरी रहने गरी गुल्म नै स्थापना गर्न आवश्यक प्रक्रिया शुरु गरिएको छ ।
बिहीबार मात्रै सशस्त्र प्रहरीको इञ्जीनियरको टोली सो क्षेत्रको नापनक्सा गरेर फर्किएको छ । लकडाउन लगत्तै भवन निर्माणका लागि बोलपत्र आह्वान हुनेछ । गुल्ममा सशस्त्र प्रहरी नायब उपरीक्षकको नेतृत्वमा १६० जनाको टोली रहने छ ।
उक्त गुल्मले कालापानी, लिपुलेक, व्यास गुफा, कैलाश मानसरोवरको प्रवेशद्वार तथा अपिनाम्पा संरक्षण क्षेत्रजस्ता सामरिक महत्व बोकेको ऐतिहासिक, धार्मिक तथा पर्यटकीय क्षेत्रको सुरक्षा गर्नेछ ।
सकेसम्म छिटो गुल्म स्थापना गर्ने तयारी गरिएको र यसबाट सीमा रक्षा, आपराधिक क्रियाकलाप नियन्त्रण तथा सर्वसाधारणको शान्ति सुरक्षामा महत्वपूर्ण कदम हुने दार्चुलाका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले जानकारी दिए ।

प्रतिक्रिया