कोरोना : भारतबाट ३० हजार व्यक्तिलाई जाँच्न पुग्ने पीसीआर किट सहयोग
काठमाडौँ । कोरोना ( कोभिड १९) का कारण विश्वमा महामारी फैलिइरहेका बेला नेपाल र नेपालजस्ता विकासउन्मुख अन्य मुलुकलाई भाइरस टेष्टमा समस्या परेको छ । सोहि समस्यालाई समाधानकालागि सहयोग होस भन्ने उद्देश्यले विभिन्न देशहरुले स्वास्थ्य सामग्री सहयोग गर्दै आएका छन् नेपाललाई । यसैक्रममा भारतले पनि स्वास्थ्य परिक्षणकालागि सामाग्रीहरु सहयोग गरेको छ । भारतले नेपाललाई ३० हजार व्यक्तिको स्वास्थ्य जाँच गर्न पुग्ने कोभिड–१९ पीसीआर टेस्ट किट सहयोग गरेको हो । नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले आइतबार स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाललाई माइल्याबले उत्पादन गरेका ती किट हस्तान्तरण गरेका हुन् ।
भारतीय दूतावासका अनुसार आइतबार बिहान मन्त्रालयमै पुगेर राजदूत क्वात्राले मन्त्री ढकाललाई ती सामग्री हस्तान्तरण गरे । दूतावासद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘भारतीय जनताका तर्फबाट नेपाली जनताका लागि उपहारस्वरूप प्रदान गरिएका टेस्ट किटको सहयोगले नेपालका स्वास्थ्यकर्मीले तीस हजार व्यक्तिको पीसीआर परीक्षण गर्न सक्नेछन् ।’
यसअघि वैशाख १० मा राजदूत क्वात्राले नेपाल सरकारलाई २३ टन औषधि हस्तान्तण गरेका थिए । ‘औषधि र परीक्षण किट हस्तान्तरणले कोभिड–१९ महामारीले निम्त्याएको साझा चुनौतीविरुद्ध तयार रहन, सामना गर्न तथा एकसाथ लड्न दुई देशका नेता एवं जनताबीचको जारी सहकार्यलाई दर्साउँछ,’ विज्ञप्तिमा उल्लेख छ ।
दूतावासले चुनौतीको घडीमा भारत सरकारले नेपाल सरकार, स्वास्थ्यकर्मी तथा नेपाली जनतासँग ऐक्यभाव जनाएको उल्लेख गरेको छ ।

प्रतिक्रिया