कोरोना सङ्क्रमितको शव जलाएपछि सिल गरिएको विद्युतीय शवदाह गृह सञ्चालनको तयारीमा
काठमाडौं । कोरोनाको सङ्क्रमणबाट मृत्यु भएकी महिलाको दाहसंस्कार गरिएको पशुपतिस्थित विद्युतीय शवदाह गृह आजदेखि सञ्चालनमा ल्याउने तयारी भएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।
कोरोना सङ्क्रमित भई निधन भएकी सिन्धुपाल्चोक जिल्ला बाह्रबिसे नगरपालिका–९ की सुत्केरी महिलाको गत शनिबार राति शवदाह गरेपछि विद्युतीय यन्त्र भएको कक्षलाई ३६ घण्टासम्म सिल गरी सरसफाइ गरिएको कोषका निर्देशक राजु रेग्मीले जानकारी दिए । सरसफाइपछि आज अपराह्नदेखि विद्युतीय शवदाह गृह पूर्ववत् सञ्चालनमा ल्यााउने गरी तयारी भइरहेको छ ।
शवदाहमा संलग्न भएका छ जना कर्मचारीको पिसिआर परीक्षणसमेत गर्न लागिएको उनले सुनाए । कोरोना सङ्क्रमितलाई जलाउने क्रममा विद्युतीय शवदाह गृहमा संलग्न कर्मचारीले लगाएको व्यक्तिगत सुरक्षा उपकरण (पिपिई) पनि नष्ट गरिएको छ । कोरोना सङ्क्रमित भई निधन भएकाको शव जलाएपिच्छे पिपिई परिवर्तन गर्दा अभाव हुनसक्ने चुनौतीसमेत थपिएको छ ।
कोरोना सङ्क्रमितलाई जलाएपछि शवदाह गृह सफाइका लागि ३६ घण्टा बन्द गर्नैपर्ने भएकाले सेवा सञ्चालनमा समस्या आएको छ । सुरक्षाका कारण कोरोना सङ्क्रमितलाई आर्यघाट र भष्मेश्वर घाटमा जलाउन नसकिने कोषले जनाएको छ । विद्युतीय शवदाह गृहमा दुई शव एकैपटक जलाउन सकिन्छ । दुई कोरोना सङ्क्रमित भई निधन भएकाको शव एकैपटक जलाउने गरी तयारी गर्नेलगायत विषयमा कोषले सरकारसँग वार्ता गर्ने भएको छ ।

प्रतिक्रिया