निर्माण कार्यलाई गति दिन भौतिक पूर्वाधार विकास मन्त्री फुयालको निर्देशन
हेटौँडा । वाग्मती प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री रामेश्वर फुयालले विकास निर्माणको गतिलाई तिव्र पार्न निर्देशन दिएका छन् । प्रदेशका १३ वटै जिल्ला हेर्ने विभिन्न नौ कार्यालयका प्रमुखसँग छलफलमा गर्दै मन्त्री फुँयालले कोरोना प्रतिरोधको संस्कृतिसहित सामाजिक तथा भौतिक दूरी कायम गर्दै एवं सुरक्षाका सबै सावधानी अपनाएर निर्माण कार्यमा गति दिन आग्रह गरेका छन् । भिडियो कन्फ्रेन्समार्फत भएको छलफलमा मन्त्री फुँयालले विकास निर्माणको कामलाई कुनै पनि बाहनाले रोक्न नहुने बताए । भिडियो कन्फ्रेन्समा यातायात पूर्वाधार निर्देशनालय, पूर्वाधार विकास कार्यालय तथा विभिन्न जिल्ला हेर्ने प्रादेशिक सडक डिभिजन कार्यालयका प्रमुख तथा प्रतिनिधिको सहभागिता थियो ।
बैठकपछि कुराकानी गर्दै मन्त्री फुँयालले कोरोनाको कहरले धकेलिएको विकास निर्माणको दरलाई सामान्य बनाउँदै जाने र स्थानीय मजदुरहरुको प्रयोग गरी निर्माणको कामलाई तीव्र बनाउने नीति लिइएको जानकारी दिए । “हामी अस्थिर छौँ, हामीसँग थकाइ मार्ने फुर्सद छैन, प्रदेश सरकारले विभिन्न चरणमा विभिन्न प्रतिबद्धता गरेको छ र ती प्रतिबद्धता पूरा गर्नु हाम्रो कर्तव्य हो , त्यसमा हामी लागि रहन्छौँ”, उनले भने । प्रदेशका १३ वटै जिल्लामा धमाधम काम भइरहेको उनको भनाइ थियो ।
प्रतिक्रिया