एमसीसी संसदको छलफलको विषय हो : प्रधानमन्त्री
टंककला तिमिल्सेना,
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको अतिक्रमित भूमिमा अब केवल नेपालको स्वामित्व रहने वातावरण बनाउने दावी गरेका छन् । मंगलबार संसद बैठकलाई सम्बोधन गर्दै उनले यस्तो दावी गरेका हुन् । उनले सोमबार मन्त्रिपरिषद बैठकबाट पारित अतिक्रमित भूमि समेटेर तयार पारेको नक्सा केवल औपचारिकता मात्र नभएको बताए ।
प्रधानमन्त्री ओलीले भने,‘ संविधानको अनुसुची ३ मा रहेको नेपालको नक्सा सच्याइने छ । संविधान संशोधन मार्फत नक्सा सच्याएका दिन देशमा दिपावली मनाइने छ ।’
ओलीले भने,‘ नक्सामा समेट्ने मात्र होइन यो सरकारले अतिक्रमित भूमिमा प्रशासनिक स्वामित्व समेत कायम गर्ने छ, जुन अभ्यासमा देखिने छ ।’
उनले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) का बारे संसदमा उठेका कुराको समेत जवाफ दिए । उनले एमसीसी पास गर्ने वा नगर्ने त्यो संसदले यथेष्ट छलफल गर्न सक्ने बताए । सोमबार सांसद भिम रावलले एमसीसीका बारेमा व्यक्त गरेका कुरालाई लक्षित गर्दै ओलीले विद्युत ट्रान्समिसन जुनसुकै हालतमा बनाइने तर त्यो एमसीसीसँगै नजोडिनपनि सक्ने बताए ।
यस्तै, सरकारले कोरोना भाइरसले प्रभाव पारेका सबै क्षेत्रबारे एथेष्ट योजना बनाएको बताए । उनले सरकारले दुरदृष्टिसहितका योजना नीति तथा कार्यक्रममा समेटेको दावी गरे । उनले यो सरकारले सामाजिक न्यायसहितको समृद्ध राष्ट्र निर्माणकालागि जग बसाल्ने काम गरिरहेको जिकिर गरे ।

प्रतिक्रिया