लकडाउनमा उलंघन गरेको आरोपमा समाजवादी पार्टीका १५ युवा कार्यकर्ता पक्राउ

नेपालखोज २०७७ जेठ ८ गते १९:५५

जनकपुरधाम । जनकपुरधाममा लकडाउनको उलंघन गर्दै प्रदर्शन गर्ने १५ जना जनता समाजवादी पार्टीका युवा कार्यकर्ताहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

जनकपुरधामको बसहिया रोडस्थित दक्षिणकाली मन्दिर नजिकबाट प्रहरीको विरोधमा नारावाजी गर्दै जिल्ला प्रशासन कार्यालय जाने क्रममा माछा बजारबाट तिनीहरुलाई नियन्त्रणमा लिएको धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए ।

केही दिन पहिला जनता समाजवादी पार्टीका प्रदेशसभा सदस्य अशोक यादवले लकडाउनको उलंघन गर्दै विना पास गाडी चलाएपछि प्रहरीले गाडी नियन्त्रणमा लिएको थियो। गाडी नियन्त्रणमा लिदा प्रहरी र सांसद बिच विवाद समेत भएको थियो ।

युवाहरुले प्रहरी आतंक बन्द गर, गलत पत्रकारिता बन्द गर भन्दै दक्षिणकाली मन्दिर नजिकबाट विरोध र्याली निकालेका थिए। पक्राउ पर्नेहरुमा जनता समाजवादी पार्टीका युवा नेता नविन यादव, मुकेश झा लगायत १५ जना रहेको धनुषा प्रहरीले जनाएको छ।

प्रतिक्रिया